बिर्तामोड। निर्माण व्यवसायी संघ झापाका अध्यक्ष रमेश अधिकारीले मध्यपूर्वको तनावका कारण निर्माण सामग्रीको चरम मूल्यवृद्धिका कारण निर्माण व्यवसायी समस्यामा परेको बताएका छन्।
 झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन्।
  मध्यपूर्वको तनावका कारण पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेकाले त्यसले पनि आफूहरूलाई समस्यामा पारेको उनको भनाई छ।
  साना निर्माण व्यवसायीलाई नदीजन्य सामग्रीलाई सहजरूपमा उपलब्ध नगराएकाले आफूहरूले निर्माण गरेका निर्माण कार्य समयमै सम्पन्न गर्न नसक्ने बताउँदै उनले उपभोक्ताहरुलाई धैर्य धारण गर्न आग्रह गरे।

  मध्यपूर्वमा भइरहेको युद्धका कारण निर्माण उद्योगमा प्रयोग हुने  निर्माण सामाग्रीमा अत्यधिक मूल्यवृद्धिले  निर्माण उद्योग दिन प्रतिदिन धरासयी बन्दै निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकाे कारण निर्माण उद्योगमा 'आपतकाल' घाेषणा गरि निर्माण व्यवसायीहरूलाई अविलम्ब राहत दिन  उनले सरकार समक्ष माग गरेका छन्।
    डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामाग्रीहरूमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धि,  नदिजन्य निर्माण सामग्रीहरू खोलाबाट निकाल्न नपाउनु, व्यक्तीगत जग्गाबाट खरिद गरिएका डुङ्गा, गिट्टी, बालुवा ओसार पसारमा स्थानिय निकाय र सुरक्षा निकायको धरपकड हुनाले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेकाले निर्माण व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनको भनाई छ।
   इन्धनजन्य सामाग्रीहरूसहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डी लगायत नदिजन्य निर्माण सामाग्रीहरूमा समेत निरन्तर भइरहेको अप्रत्याशित एवं अत्यधिक मूल्यवृद्धि र बजारमा उक्त सामाग्रीहरूको अभावले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको निर्माण व्यवसायी संघ झापाका महासचिव पुष्पराज निरौलाले बताए ।       

  देशका विभिन्न ठाउँमा क्रसर उद्योगमा देखिएको समस्या, कतिपय स्थानिय निकायमा काम सम्पन्न गरेता पनि भुक्तानी नपाउनु (समयमै रकमान्तर नहुनु) साथै धेरै व्यवसायीहरुले २०८०/०८१ देखिको पूर्वाधार विकास कार्यालय झापाबाट हालसम्म भुक्तानी नपाउनुले निर्माण व्यवसायीहरु  आक्रान्त भएको  उनले बताए।
   निर्माण उद्योगको यस्तो अत्यन्त विषम परिस्थितिका विषयमा केन्द्रीय महासंघले बारम्बार नेपाल सरकार लगायत सम्बन्धित निकायहरूमा पत्राचार गरेतापनि समस्या समाधान हुने गरी अहिले सम्म केही कार्यान्वयन नभएकाले आफूहरूले अब निर्माण कार्य ठप्प बनाउनु पर्ने अवस्था आएको उनको भनाई  छ  ।
   वार्षीक ठेक्काको कुनैपनि मुल्य सभायोजन राख्ने प्रावधान नहुनु र मुल्य समायोजन हुने बहुवर्षिय ठेक्काको मूल्य समायोजन राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार हुने भएकाले बजारमा निर्माण सामाग्रीहरूको अत्याधिक मूल्यवृद्धि भएतापनि राष्ट्र बैंकको इन्डेक्समा उक्त सामाग्रीहरूको मूल्य घटेको देखाइने प्रचलनका कारण निर्माण उद्योगमा थप संकट देखिएको उनी बताउँछन्।
   निर्माण कार्य तीव्र रुपमा हुने समयमा नै इन्धन सामग्रीसहित निर्माण सामाग्रीहरूमा निरन्तर भइरहेकाे अत्यधिक मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार परेको हुँदा निर्माण उद्योगमा 'आपतकाल' घोषणा गरी निर्माण व्यवसायीहरूलाई अविलम्ब राहत दिन उनले माग गरेका छन्।

    प्रत्येक आयोजनामा मूल्यवृद्धि भए अनुरुप हालको कानूनी व्यवस्थाबाट मूल्य समायोजन हुने नसक्ने हुँदा मूल्य समायोजनको मार्ग निर्देशिका-२ तत्काल जारी गर्न र सबै अवधिका ठेक्काको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्यवृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समस्या तुरुन्त सम्बोधन गर्न निर्माण व्यवसायी संघ झापाका पूर्व द्वितिय उपाध्यक्ष मौषम थापाले सरकार समक्ष  माग गरेका छन् ।    उनले आफूहरूले घर जग्गा बेच्दा पनि यो अवस्थामा निर्माण कार्य गर्न नसक्ने भएकाले  निर्माण व्यवसायीलाई यथासक्य राहत दिन उनले सरकार समक्ष अपील गरे।     निर्माण व्यवसायी संघ झापाका अध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन निर्माण व्यवसायी संघ झापाका महासचिव पुष्पराज निरौलाले गरेको कार्यालय सचिव ज्योति पौड्यालले जानकारी दिए।