बिर्तामोड। कोशी- बंगाल सांस्कृतिक तथा पर्यटन उत्सबको तयारी पूरा भएको छ।
  बिर्तामोडस्थित सिटीसेन्टरमा मंगलबार र बुधबार हुने कोशी- बंगाल सांस्कृतिक तथा पर्यटन उत्सबको उद्घाटन कोशी प्रदेशका पर्यटन मन्त्री भीमप्रसाद पराजुलीले गर्ने भएका छन् ।
उत्सबमा ३० वटा स्टलरहेको जसमा १२ वटा स्टल बंगालका र १८ वटा कोशी प्रदेशका बिभिन्न क्षेत्रलाई प्रदान गरिएको कार्यक्रम संयोजक तथा होटल व्यवसायी संघ झापाकी अध्यक्ष  ईन्दिरा श्रेष्ठले बताइन् । स्टलमा लघुउद्यम, हस्तकलालगायतका सामग्री राखिने उनको भनाइ छ।
  पर्यटन कार्यालय झापाका कार्यक्रम अधिकृत निरोज कट्टेलले कोशीमा पर्यटन भित्र्याउन महोत्सव आयोजना गरिएको बताए। उनले पश्चिम वंगाल र कोशी प्रदेशबीच भगिनी सम्बन्ध कायम गर्ने  बताए ।  नेपाल सुरक्षित छ भन्ने देखाउन महोत्सवको आयोजना गरिएको उनको भनाई छ।
कार्यक्रममा पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले कोशी- बंगाल सांस्कृतिक तथा पर्यटन उत्सबले विशेष गरी पश्चिम वंगालका पर्यटक कोशी प्रदेश घुम्न आउने बातावरण बन्ने बताए।
  होमस्टे  महासंघ नेपाल कोशी प्रदेशका  महासचिव मञ्जील देवानले पश्चिम वंगालका पर्यटकहरूलाई कोशी प्रदेशमा राख्न सके कोशी प्रदेशका होमस्टे, होटल व्यवसाय फस्टाउने बताए। उनले दुई देशको सांस्कृतिक गतिविधि आदानप्रदान गर्न विभिन्न कार्यक्रम गरिने जनाए।
होटल व्यवसायी संघ झापाका महासचिव, शिवराज पौड्याल , नाट्टा कोशी प्रदेशका महासचिव नवीन खरेलले महोत्सव सफल बनाउन सहयोग गर्ने बताए।
कार्यक्रमको सहजीकरण पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष विनोद पाण्डेले गरेका थिए।