बिर्तामोड। झापा क्षेत्र नम्बर २ कि समानुपातिक सांसद मनमाया विश्वकर्माले झापा क्षेत्र नम्बर २ को समस्या  समाधानको लागि प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष  माग गरेकी छिन्।
    प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदहरूसँग गरेको छलफल कार्यक्रममा सांसद विश्वकर्माले झापा क्षेत्र नम्बर २ को समस्या लिखितरुपमा प्रस्तुत गरी प्रधानमन्त्री शाहलाई बुझाएको बताइन् ।
   उनले  झापा क्षेत्र नं. २ अन्तरगत दानाबारी र गडी मदनपुर जोड्ने बिरिङ पुल भत्किएर  स्थानीयवासीलाई आवतजावत गर्न समस्या भइ त्यस क्षेत्रका वासिन्दाको जनजीवन अस्तव्यस्त भएकाले बिरिङ  पुलको तत्काल निर्माण गर्न प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष  माग गरेकी छिन्।
   त्यसैगरी उनले  भारतसँगको खुला सिमानाको फाइदा उठाउँदै झापासहित तराईका जिल्लाहरूमा सजिलै लागूपदार्थ ओसार पसार हुने भएकाले विशेष गरी झापा क्षेत्र नं. २ का युवा लागूपदार्थ दुर्ब्यसनको  सिकार भएको र यसले घरपरिवार, समाज र देशलाई नै दीर्घकालिन असर पुर्याएकाले यसको दीर्घकालीन नियन्त्रणको लागि प्रधानमन्त्री शाहसमक्ष  माग गरेकी छिन्।
   त्यसैगरी झापा जिल्लामा मात्रै ५४ हजार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी भएकाले उनीहरुलाई  जग्गा दिलाएर  भूमिहीनको समस्या तत्काल समाधान गर्नुपर्ने उनको माग छ।
    अर्जुनधारा - ४ को टाङटिङ खोलाले पूर्वी किनार कटान गर्दा बस्तीहरू जोखिममा पर्दा त्यहाॅका वासिन्दा घरवारविहिन बन्नुपर्ने अवस्था आएकाले जनताको तटबन्ध कार्यक्रम मार्फत मदनपुरदेखि शाहसी बस्तीसम्म दीर्घकालिन रुपमा नदी नियन्त्रण गरिनुपर्ने ,  मेची राजमार्गको बुद्धशान्ति - ३ मा सिंगल पुलका कारण दुर्घटना बढेकाले Two-way पुल बनाउन उनको माग छ।
   त्यस्तै उनले बिर्तामोड कृषि बजारमा भारतसँग समेत कृषि उत्पादनको आयात तथा निर्यात हुने भएकाले कृषि उत्पादनलाई व्यवस्थापन गर्न अन्डरग्राउण्ड पार्किङ र शीत भण्डार सहितको बहुतले भवन निर्माण तत्काल गर्न प्रधानमन्त्री शाहसमक्ष  माग गरेकी छिन्।
   त्यसैगरी बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ३ को किनारा बस्तीमा २०२८ सालदेखि दलितहरूको बसोबास रहेको र त्यहाँबाट ७ सय घरधुरी मध्ये ९० प्रतिशत दलित रहेको र त्यहाँबाट आवतजावत गर्न  धुले बाटोले गर्दा सहज रूपमा यातायातको समस्या  भएकाले  यो वर्ष नै सुविधायुक्त कालोपत्रे बाटो निर्माणका लागि तत्काल वजेट छुट्याउन उनले माग गरिन्।
   उनले  झापा र मोरङमा मात्रै बसोबास गर्ने  राजवंशी समुदायले झापाको कन्काई ९ मा राजवंशी जातीको पहिचान र संस्कृति झल्कने ‘कोच संग्रहालय’ बनाउदा बनाउदै वजेटको अभावमा बिचैमा अलपत्र परेकाले  यसको निर्माण सम्पन्न गरी  सञ्चालनका लागि यसै वर्षको वजेट छुट्याउन माग गरिन्।
   त्यस्तै उनले  कांकडभिट्टा-इनरुवा रेलमार्ग बनाउने भनेर सरकारले स्थानीयको जग्गा रोक्का राखेर  योजना स्थगित भए पनि जग्गाको रोक्का हालसम्म फुकुवा नहुँदा जनताले दु:ख पाएकाले उक्त जग्गा रोक्का तत्काल फुकुवा गर्न प्रधानमन्त्री शाहसमक्ष  माग गरेकी छिन्।
   प्रधानमन्त्री शाहसमक्ष आफूले राखेको मागमा प्रधानमन्त्री शाहले सकारात्मक रूपमा लिएको सांसद विश्वकर्माको भनाई छ।

  आफू झापा क्षेत्र नम्बर २ को  समानुपातिक सांसद भएकाले झापा क्षेत्र नम्बर २ का जनताको जस्तोसुकै समस्या  समाधानको लागी लागीपर्ने उनले प्रतिबद्धता जनाइन्।