बिर्तामोड। ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को तयारी धमाधम भइरहेको छ ।
आगामी माघ २४ गतेदेखि फागुन ४ गतेसम्म बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा हुने सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ रहने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए । ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए।
यस बर्ष झापा गोल्डकपको बिजेता तथा उपबिजेताको पुरस्कार राशीमा बृद्दि गरिएको उनको भनाई छ ।
त्यस्तै ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिने तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले बताए।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २५ हजार रुपैयाँ प्रदान गरिने र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षकलाई नगद ३५ हजार प्रदान गरिने बताउँदै उनले विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको जानकारी दिए ।
त्यस्तै ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ मा आयोजक झापा ११ फुटबल क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, लालीगुराँस एशोसिएसन नेपाल पोखरासहित भुटानको रोयल थिम्पु कलेज, भारतको सिग्लिङ स्पोर्टिङ क्लब र मलेसियाको एन पेनाङ एफसीसहितले प्रतिस्पर्धा गर्ने झापा गोल्डकपका महासचिव बुद्धभुषण योञ्जन तामाङले जानकारी दिए।
२०७२ सालदेखि झापालाई फुटबल हबका रूपमा विकास गर्ने लक्ष्यसहित ‘ झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ सञ्चालन हुँदै आएको उनले बताए ।
पूर्वी नेपालका फुटबलप्रेमी दर्शकमाझ लोकप्रिय मानिने प्रतियोगिता प्रत्यक्ष प्रसारणमार्फत देश तथा विदेशका दर्शकले अवलोकन गर्दै आएको उनले बताए।
यस वर्ष ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ मा झापाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने तथा डोमालाल राजवंशी रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने उनले बताए।
प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको बताउँदै अध्यक्ष गिरीले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, सरोकारवाला निकाय, प्रायोजक तथा स्वयंसेवकसँग आवश्यक समन्वय गरिसकिएको जानकारी दिए ।
प्रतियोगितालाई एग्रो थाई फुड्सको उत्पादन एक्सट्रिम एनर्जी ड्रिङ्सले प्रायोजन गर्ने सहमति अनुरूप मुख्य प्रयोजकसमेत रहेको एक्सट्रिम एनर्जी ड्रिङ्स र आयोजकबिच सम्झौता पत्रमा हस्ताक्षर भएको अध्यक्ष गिरीले बताए।
यस वर्ष ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ का लागि खेलमैदान मर्मतको काम अन्तिम चरणमा पुगेको तथा बाँसको अस्थायी प्यारापिटसमेत निर्माण सम्पन्न भइसकेको र मञ्च सजावट बाहेकको सम्पूर्ण तयारी पूरा भइसकेको झापा गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए ।
कार्यक्रममा न्युटन्स एजुकेसन एकेडेमीले २३ औं बार्षिकोत्सवमा झापा गोल्डकपलाई प्रदान गरेको एक लाख रूपैयाँ झापा गोल्डकपका सल्लाहकार प्रशान्त भण्डारीले अध्यक्ष गिरीलाई हस्तान्तरण गरेका थिए।
झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।




















