बिर्तामोड अर्जुनधारा उद्योग बाणिज्य संघको आयोजना तथा अर्जुनधारा नगरपालिकाको सहकार्यमा अर्जुनधारामा रोजगार मेलाको तयारी गरिएको छ।
   अर्जुनधाराका वेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले  आगामी असार ३ गतेबाट  असार ५ गतेसम्म शनिश्चरे बजारमा रोजगार मेलाको आयोजना गरिएको अर्जुनधारा उद्योग बाणिज्य संघका अध्यक्ष ईन्दीबर खड्काले बताए।
   अर्जुनधारामा पहिलो पटक रोजगार मेलाको आयोजना गरिएको बताउँदै उनले रोजगार खोज्ने युवालाई तालिमसहित सीप समेत प्रदान गरिने  बताए।

रोजगार मेलाको तयारी र प्रभावकारिताका विषयमा अर्जुनधारा उद्योग बाणिज्य संघले  सरोकारवाला पक्षहरूसँग वृहत् छलफल तथा अन्तर्क्रिया कार्यक्रम समेत  गरेको बताउँदै उनले रोजगारदाता र रोजगारको खोजीमा रहेकाहरूका लागि रोजगार मेला निकै महत्त्वपूर्ण  हुने जनाए ।

उनले  रोजगार मेलामा विभिन्न उद्योग, व्यवसाय र कम्पनीहरूका  स्टलहरू रहने र ती स्टलमा सीपमुलक तालिमको समेत आयोजना गरिने जानकारी दिए।

 रोजगार मेलामा विभिन्न जातजातीको झाँकीसमेत प्रदर्शन गरिने बताउँदै उनले  शिक्षित, अशिक्षित, दक्ष तथा अदक्ष सबै नागरिकका लागि रोजगार मेला लाभदायक हुने जनाए।

भर्खरै औपचारिक शिक्षा पूरा गरेका विद्यार्थी, औपचारिक शिक्षाका साथै विशेष सीप भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त नागरिक र वैकल्पिक समयमा काम गर्न चाहने व्यक्तिहरू रोजगार मेलामा सहभागी हुन सक्ने बताउँदै उनले  प्रवेश नि:शुल्क रहेकाले रोजगार मेलामा सहभागी हुन सबैलाई आग्रह समेत गरे।

  अर्जुनधारा नगरपालिकाका नगर प्रमुख वलदेवसिंह गोम्देनले अर्जुनधारामा पहिलो पटक रोजगार मेला आयोजना गरिएको बताए ।

 रोजगार मेलाबाट रोजगारदाताले आफ्नो आवश्यकता अनुसारका दक्ष कामदार पाउने र बेरोजगार व्यक्तिहरूले योग्यता अनुसारको काम पाउने उनको भनाई छ ।
  उनले रोजगार मेलाले वेरोजगारीको अन्त्य गर्नुका साथै स्थानीय स्तरमा दक्ष कामदार नभेटिँदा बाध्य भएर भारतीय कामदारहरू ल्याउनुपर्ने अवस्थाको  अन्त्य गर्न सघाउने जनाए ।
उनले अर्जुनधारामा लुकेर रहेका प्रतिभाहरूको प्रतिभा प्रस्फुटन गर्न रोजगार मेलाले  मद्दत पुग्ने बताए।
अर्जुनधारा नगरपालिकाका नगर उपप्रमुख खड्गमाया पराजुलीले रोजगार मेलालाई अर्जुनधारावासीको अपनत्व हुने मेला बनाउनुपर्ने बताइन् ।

 उनले  रोजगार मेलामा सहभागी हुन सबैलाई आग्रह गरिन्।