बिर्तामोड ।  ‘ टीभीएस झापा रक स्टार कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ प्रतियोगिताको फाइनल आगामी असार २६ गते हुने भएको छ ।
   अमृत स्टोर, बिर्तामोडको प्रस्तुति तथा एनएसएस इभेन्टको व्यवस्थापनमा यस बर्ष झापा रक स्टारको तेस्रो संस्करणको टाइटल स्पोनसर टीभीएस रहेको र  कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज प्रतियोगिता  ‘ टीभीएस झापा रकस्टार भएको  ईभेन्ट डाइरेक्टर सुनिता तामाङले बताइन् ।
   आगामी असार २६ गते अग्रसेन भवनमा  ‘ टीभीएस झापा रक स्टार कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ 
प्रतियोगिताको फाइनल गरिने उनले बताइन्।

   फिजिकल अडिसनबाट  छनोट भएका आवाज ब्यान्ड (इलाम), यात्री ब्यान्ड (चारआली), बास क्लेफ ब्यान्ड (बिर्तामोड), राग भर्स (बिर्तामोड) र जेनियम ब्यान्ड (धुलाबारी) बीच फाइनल प्रतिस्पर्धा हुने   उनले बताइन्।
 जगदम्बा मोटर्स टीभीएसका नेशनल हेड हरी न्यौपानेले ‘ टीभीएस झापा रक स्टार कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ प्रतियोगितामा टीभीएस अपाचे आरटीआर १६० फोर भी युयसडी प्रोजेक्टर हेड ल्याम्पको रीजनल लञ्च गरिने बताए ।

उनले  प्रतियोगितामार्फत युवाहरुसँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै
संगीत क्षेत्रमा सक्रिय युवा तथा नवप्रतिभालाई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै पूर्वी नेपालका उदाउँदा ब्यान्डहरूलाई व्यवस्थित मञ्च उपलब्ध गराउने उद्देश्यले आयोजना गरेको  ‘ टीभीएस झापा रक स्टार कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ प्रतियोगिताको  टीभीएसले  टाइटल स्पोनसर गरेको बताए।
  अमृत स्टोरका सञ्चालक तथा
‘ टीभीएस झापा रक स्टार’ का डाइरेक्टर अमृत पौडेलले ‘ टीभीएस झापा रक स्टार’ केवल प्रतिस्पर्धामा सीमित नभई संगीतप्रेमी, कलाकार र दर्शकलाई एउटै मञ्चमा जोड्ने सांगीतिक उत्सवका रूपमा स्थापित हुँदै गएको बताए।

उनले ‘ टीभीएस झापा रकस्टार’ केवल प्रतियोगिता मात्र नभएर संगीतप्रेमी र नवप्रतिभाहरुलाई एउटै मञ्चमा जोड्ने एउटा सांगीतिक उत्सव बन्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान, प्रवर्द्धन तथा सांगीतिक संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने जनाए ।
    अन्य प्रतियोगिता जस्तो यस प्रतियोगितामा कुनै पनि प्रकारको भोटिङ प्रणाली नराखिएको र प्रतियोगितामा हेर्न दर्शकले कुनै शुल्क तिर्नुनपर्ने उनले बताए।
    यसअघि २०८१ सालमा ‘झापा रकस्टार’को पहिलो संस्करण अन्तर्गत ‘खुला ब्यान्ड ब्याटल’  प्रतियोगिता तथा दोस्रो संस्करणमा ‘अन्तरविद्यालय स्तरीय ब्यान्ड ब्याटल’  प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको बताउँदै उनले  तेस्रो संस्करणले पनि कोशी प्रदेशका प्रतिभाशाली ब्यान्डहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको जनाए।
    ‘ टीभीएस झापा रक स्टार कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ प्रतियोगिताको   वैशाख ५ गतेदेखि जेठ १० गतेसम्म  भएको  डिजिटल अडिसनमा १२ वटा ब्यान्ड सहभागी भएको र पहिलो चरणको डिजिटल अडिसनमा सहभागी १२ वटा ब्यान्डमध्ये उत्कृष्ट सात ब्यान्ड फिजिकल अडिसनका लागि छनोट भएको र असार १५ गते  भएको प्रतिस्पर्धाबाट फाइनलका लागी टप फाइभ व्याण्ड छनोट भएको उनले  जानकारी दिए ।
  प्रतियोगिताको विजेता ब्यान्डले ५० हजार रुपैयाँ नगदसहित  गिटार, पोर्टफोलियो सुट तथा अफिसियल म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्ने, दोस्रो स्थान हासिल गर्ने ब्यान्डले ३० हजार रुपैयाँ नगद, गिटार र पोर्टफोलियो सुट प्राप्त गर्ने , तेस्रो हुने ब्यान्डले २० हजार रुपैयाँ नगदसहित गिटार र पोर्टफोलियो सुट प्राप्त गर्ने उनले बताए। त्यस्तै कुनै एक ब्याण्डलाई टिभिएसकाे ब्राण्ड गीत निर्माणकाे अवसर प्रदान गर्ने समेत उनले बताए ।
नेपालका पहिलो ड्रमर देब रानाको प्रमुख आतिथ्यमा हुने फाइनल प्रतियोगिताको निर्णायकहरूमा गितारिष्ट सञ्जीव सुब्बा, दार्जिलिङका गितारिष्ट तथा गायक सहदेव लामा र गायक तथा म्युजिक टिचर अर्जुन दाहाल रहने उनले बताए।
कार्यक्रमको सञ्चालन प्रतियोगिताका मिडिया कोअर्डीनेटर तिलक योञ्जनले गरेको पिआरओ प्रकाश संग्रौलाले जानकारी दिए।