बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कन्काई हस्पिटल प्रालिले एक हप्तासम्म ओपीडी सेवा निःशुल्क गरेको जनाएको छ ।
  कन्काई हस्पिटल प्रालि २१औं वर्षमा प्रवेश गरेको अवसरमा  असार १५ गतेदेखि एक हप्तासम्म सम्पूर्ण ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको कन्काई हस्पिटल प्रालिका अध्यक्ष युवराज डाँगीले बताए ।
  विशेषज्ञ सेवा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ २०६३ साल साउनमा स्थापना भएको कन्काई हस्पिटल प्रालिमा फिजिसियन , बालरोग, महिला तथा प्रसूति , हाडजोर्नी तथा नशा रोग , मानसिक , सर्जरी , मुटुरोग , नाक कान घाँटीलगायतका विशेषज्ञ चिकित्सकहरुको सेवा उपलव्ध रहेको बताउँदै उनले कन्काई हस्पिटल प्रालि २१औं वर्षमा प्रवेश गरेको अवसरमा  असार १५ गतेदेखि सम्पूर्ण उपचार तथा परीक्षण सेवाहरूमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको जनाए ।
  उनले अस्पतालको सेवालाई अझ उत्कृष्ट बनाउन आगामी दिनमा छिट्टै सिटी स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको र यसलाई छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिए ।   त्यस्तै बिरामीहरूको सहजतालाई ध्यानमा राख्दै  बिर्तामोड-५ धर्मकांटा रोडमा सञ्चालित अत्याधुनिक ४ तले भवनमा आधुनिक लिफ्ट जडान गरी छिट्टै सञ्चालनमा ल्याउने समेत उनले जानकारी दिए ।

  बिर्तामोड–६, बुट्टाबारीमा  कन्काई हस्पिटल प्रालिकै स्वामित्वको एक विगाह १० कठ्ठा जग्गा खरिद गरिएको र उक्त जग्गामा २ सय शय्याको अत्याधुनिक भवन निर्माण गरी हस्पिटल संचालनमा ल्याउने सोचका साथ तयारी अगाडि बढाइएको अध्यक्ष डाँगीले बताए ।
   कन्काई हस्पिटल प्रालिले हालसम्म ३ करोड ६५ लाखभन्दा बढीलाई ओपिडी सेवा,  ३ करोड ४७ लाखभन्दा बढीको ल्याब परीक्षण , २ लाख ५८ हजार ५ सय ५५  जनाको आकस्मिक कक्ष सेवा,  ३ लाख ३ हजार २ सय ४६ फिजियोथेरापी सेवा ,  ५९ हजार १ सय ९९ जनाको मेजर अपरेशन, माइनर अपरेशन ५५ हजार.७ सय ६७,भर्ना भएका बिरामी ४२ हजार ९ सय ९७ ,प्रसूति सेवा १४हजार ८ सय ९८ जनाले लिएको उनले बताए।

  कार्यक्रममा कन्काई हस्पिटल प्रालिका सञ्चालकहरू खेमराज बानियां, राजकुमार राईलगायतले विशेषज्ञसहितको गुणस्तरीय सेवा प्रदान गरिरहेको कन्काई हस्पिटलमा आएर एक पटक सेवा लिन सबैलाई आग्रह गरे।

कन्काई हस्पिटलमा कार्यरत् डा. सशंकराज पोखरेल, डा.रितेश थपलिया, डा. रविन रेग्मीलगायतले हस्पिटलको सेवा सुविधाबारे जानकारी गराएको कार्यक्रमको  सहजीकरण हस्पिटलका बजार व्यवस्थापक पंकज शर्माले गरेका थिए।