बिर्तामोड । झापाको बिर्तामोड-५ कृषिथोक बुधबारे हटियामा रहेको आयुस स्टोरले दुई दिवसीय निःशुल्क अनुहारको  छाला परीक्षण  शिविर सम्पन्न गरेको छ ।      डर्मा अर्थ कम्पनीको थ्रीडी स्किन एनालाइजर मेसिनको प्रयोगबाट अनुहारको छाला परीक्षण गरेको आयुस स्टोरकी सञ्चालिका सृजना श्रेष्ठ मानन्धरले बताइन्।
   शिविरमा फार्मासिस्ट अनुराधा अग्रवालले एक सय भन्दा बढीको अनुहारको छालाको  परीक्षण गरेकी थिइन् ।
  उनले अनुहारको छालाको परीक्षण गरिएका सेवाग्राहीलाई अनुहारको सुरक्षा र हेरचाहका लागि आवश्यक परामर्शसमेत दिएकी थिइन्।

  उनले सहभागीको अनुहारको छालाको परीक्षण गर्दै सेवाग्राहीलाई  शरीरलाई स्वास्थ राख्न छालाको पनि महत्वपूर्ण भूमिका हुने र त्यसमा पनि घाम र धुलोसँग प्रत्यक्ष सम्पर्कमा आउने हुँदा अनुहारको छालामा अझ विशेष ध्यान दिनुपर्ने बताइन् ।

  उनले अनुहारको छालाको प्रकृति हेरेर सोही अनुसार अनुहारमा मिल्दो क्रिम र अन्य प्रोडक्ट लगाउने समय र तरिका बारे सहभागीहरुलाई  जानकारी गराएकी थिइन् ।

नेपालमा छालाको सुरक्षामा प्रयोग हुने  कस्मेटिक सामग्रीको बिक्रीवितरण गर्दै आएको डर्मा अर्थ कम्पनीको सहयोगमा दुई दिवसीय निःशुल्क अनुहारको छाला परीक्षण सञ्चालन गरिएको डर्मा अर्थ कम्पनीकी प्रतिनिधी रितु जमरकट्टेलले बताइन्

  अनुहारमा देखिने समस्या समाधान गर्न  निःशुल्क अनुहारको छालाको परीक्षण गरेको  बताउँदै उनले डर्मा अर्थ कम्पनीको थ्रीडी स्किन एनालाइजर मेसिनको   प्रयोगबाट अनुहारको छाला परीक्षण गराउँदा छालामा पानीको मात्रा, विभिन्न खाले दागलगायतका समस्या प्रस्टसँग देखिने हुँदा अनुहारको सौन्दर्यीकरणका लागि सहजरुपमा काम गर्न मिल्ने जनाइन्।
   विगत एक बर्षदेखि झापाको बिर्तामोड-५ कृषिथोक बुधबारे हटियामा रहेको आयुस स्टोरले सौन्दर्यको क्षेत्रमा काम गर्दै आइरहेको संस्थापक प्रभात मानन्धरले बताए ।