बिर्तामोड / झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी गरिएको छ । 

दशगात्र गर्ने कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले आगामी फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको महायज्ञ आयोजक समितिकी अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिइन् ।

बिर्तामोड–४ का समाजसेवी  गुरुप्रसाद ओझाले निःशुल्क ११ धुर जग्गा प्रदान गरेको र सोही जग्गामा श्री सिद्धिविनायक भजन किर्तन मण्डलीको अगुवाइमा गणेश पाञ्चायन मन्दिर निर्माण गरेर फागुन ९ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा पश्चात उद्घाटनसमेत गरिसकिएको उनले बताइन् । 

मन्दिर निर्माणका लागि विभिन्न दाता महानुभावहरुबाट १३ लाख ३१ हजार चार सय ९० रुपैयाँ खर्च भएको  र मन्दिर निर्माणमा बिर्तामोड नगरपालिकाले चार लाख रुपैयाँ समेत प्रदान गरेको उनले जानकारी दिइन् ।  

गणेश पाञ्चायन मन्दिरमा आवश्यक रंग युनिक पेन्ट्सले, टायल्स शाकम्बरी ट्रेडर्सले सौजन्य गरेको गणेशको मुर्ति स्थानीय समाजसेवी गणेश खरेलले सौजन्य गरेको उनले बताइन् ।

दशगात्र गर्ने कर्मयोग भवन र ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्नका लागी बिर्तामोड–४ का समाजसेवी  गुरुप्रसाद ओझाले निःशुल्क ११ धुर जग्गा प्रदान गरेको र  थप ११ धुर जग्गा खरीदका लागि बैना गरिएको साथै अन्य आवश्यक जग्गा खरिदका लागी पहल भइरहेको उनले बताइन् । 

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न २० लाख रुपैयाँ खर्च हुने  अनुमान गरिएको र  महायज्ञबाट एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको आयोजक समिति अध्यक्ष शिवाकोटीले बताइन् । 

अहिले आयोजक समितिका पदाधिकारीहरुसंग सापटी लिएर महायज्ञका लागि हुने खर्च गरिरहेको भएपनि महायज्ञ सम्पन्न गर्न स्वेच्छिक दान संकलन गरिने बताउँदै उनले दान दिन इच्छुक दाताको सहजताका लागि क्युआर कोड, बैंक खातासमेत व्यवस्था गरिएको जानकारी दिइन् । 

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न भीमा शिवाकोटीको संयोजकत्वमा  आयोजक समिति गठन गरिएको छ । 

आयोजक समितिका सहसंयोजकहरुमा सूर्य कन्दङ्वा, छविलाल विश्वकर्मा, जनबहादुर (जेबीं) जबेगु, श्री सिटौला, नारायण राजवंशी र शिव खनाल रहेका छन् भने  सचिवमा पुष्प खड्का, सहसचिवहरुमा केशव उप्रेती, उमा भट्टराई र दिनेश अधिकारी र कोषाध्यक्षमा यामप्रसाद न्यौपाने रहेका छन् । 

त्यस्तै केशव भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र सिता न्यौपानेको संयोजकत्वमा ६५ सदस्यीय स्वयम्सेवक परिचालन उपसमिति गठन भएको छ भने विभिन्न २७ वटा उपसमितिहरु निर्माण भएका छन् । त्यस्तै ३१ सदस्यीय सल्लाहकार समिति र २७ सदस्यीय सचिवालय गठन भइसकेको जनाइएको छ ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको प्रमुख कथावाचन भागवत मञ्जरी राधिका दासीले गर्ने भएकी छिन् भने महायज्ञको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने भएका छन् । 

आगामी फागुन २० गते विहान ९ बजेदेखि महायज्ञको कलश यात्रा शुरु गरिने भएको छ ।  नैनकला भट्टराई र रञ्जु प्याकुरेलको संयोजकत्वमा कलश यात्राको उपसमिति गठन गरिएको र कलश यात्राका लागि एक हजार ८ कलश आयोजक समितिले खरिद गरेको छ ।  

विभिन्न संघसंस्था, झाँकीलगायतको सहभागितामा एक हजार ८ कलश वोकेर महायज्ञस्थलबाट कलश यात्रा शुरु गरी  मुक्तिचोक हुँदै महायज्ञस्थल फर्कने र श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गरिने छ । 

कथा वाचन फागुन २१ गते आइतबार ११ बजेदेखि २७ गतेसम्म हुने जनाइएको छ । महायज्ञ पश्चात कलश घडा खरिद गर्न इच्छुक महानुभावहरुलाई बिक्री गर्ने गरि बुकिङ खुल्ला गरिएको बताइएको छ । 

महायज्ञको पण्डाल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ भने  विभिन्न भजन किर्तन मण्डली, टोल विकास संस्थाहरु, वडा कार्यालय, विभिन्न संघसंस्थाहरु, सामाजिक सञ्जाल, पोष्टरलगायतको माध्यमबाट प्रचारप्रसारको कामलाई तीव्रता दिइएको छ । 

महायज्ञस्थल प्रवेश गर्ने तीन वटा गेटको फ्लेक्स र हाइजेनिक खाद्य पदार्थ डिलाइट फुड्स नेपालले सौजन्य गरेको छ । कार्यक्रममा डिलाइट फुड्स नेपालका कोशी प्रदेशका रिजनल सेल्स म्यानेजर सागर रिजालले सहयोगी संस्थाको रुपमा कम्पनिको लोगोसहितको प्रमाण पत्र महायज्ञ आयोजक समितिकी अध्यक्ष भीमा  शिवाकोटीलाई हस्तान्तरण गरेका थिए । 

पण्डाल तथा आसपासको क्षेत्र चौबिसै घण्टा सिसि टिभीको निगरानीमा रहने छ भने उक्त सिसि टिभी नोबेल टेक्नोलोजी सिस्टम्स प्रा.लि.ले सौजन्य गरेको छ । 

महायज्ञ आयोजक समितिकी अध्यक्ष भीमा  शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रसार प्रसार उपसमिति संयोजक केशव भट्टराईले गरेको सचिव पुष्प खड्काले जानकारी दिए ।