बिर्तामोड। विश्व संगीत दिवसको अवसर पारेर बहुभाषिक साहित्य संगीत कलाकेन्द्र भद्रपुर-१० चन्द्रगढीको आयोजना तथा गोरखकाली सिमेन्ट प्रालिको सहकार्यमा मिश्रित संगीत प्रवाह कार्यक्रम सम्पन्न भएको छ।
बहुभाषिक साहित्य संगीत कलाकेन्द्रका अध्यक्ष प्राज्ञ हरिप्रसाद पौडेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष पौडेलले भायलिनको संगीतद्वारा स्वागत गरेका थिए।
कार्यक्रममा मारवाडी भाषाका साहित्यकार तथा गीतकार सत्यनारायण तायलको नेपाली र मारवाडी भाषाको हिमालयकी गोदमे वस्यो आपणो प्यारो देश नेपाल वोलको गीतको म्युजिक भिडियोको विमोचन गरिएको थियो । बहुभाषिक साहित्य संगीत कलाकेन्द्रको प्रस्तुती रहेको गीतमा सत्यनारायण तायलको शव्द, प्राज्ञ हरिप्रसाद पौडेलको संगीत रहेको गीतमा निशा लाल्वानी, निरज पोखरेल, जीतेन्द्र श्रेष्ठ, अनिता पौडेलको स्वर रहेको छ भने माही शर्माको अभिनय रहेको छ। गीतको म्युजिक भिडियोलाई ओयस आरले बजारमा ल्याएको छ ।
कार्यक्रममा मारवाडी भाषाका साहित्यकार तथा गीतकार सत्यनारायण तायलको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिएको थियो। मारवाडी भाषामा गीत, कबिता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आएका गीतकार तायलको नेपाली र मारवाडी भाषाका दर्जनौ गीतहरु रेकर्डिङ भई श्रोता र दर्शकमाझ आइसकेको जानकारी दिइयो । भद्रपुर निवासी तायल
पुरानो चर्चित नेपाली फिल्म चोट तथा मनकामनाको निर्माता समेत हुन्। दर्जनौ संघसंस्थामा आबद्ध गीतकार तायललाई बिभिन्न सामाजिक संघसंस्थाले सम्मान समेत गरिसकेका छन्।
कार्यक्रममा भारतीकी स्रष्टा निधी चौधरीले हिन्दी भाषामा कविता सुनाएकी थिइन् भने राष्ट्रिय गायिका पवित्रा ओली , हस्त परियार, माही शर्मा, निरज पोखरेल, जीतेन्द्र श्रेष्ठलगायतले विभिन्न भाषाभाषीको गीत प्रस्तुत गरेका थिए भने कथक नृत्यसहित विभिन्न नृत्य प्रस्तुत गरिएको थियो।
कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, वडाध्यक्षहरू अभिशेक ढुंगाना, रतिया राजवंशी, साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक र अध्यक्ष देवीभक्त श्रेष्ठ, सचिव तुलसीप्रसाद निरौला, लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरे, बर्तमान साहित्य प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपाल, साहित्यकार विरही अधिकारी, खगेन्द्रा खुशी, देवीचरण भण्डारी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन कृति राईले गरेकी थिइन्।




















