बिर्तामोड। मोफसलकै सर्वाधिक पुरस्कार राशीको स्नुकर प्रतियोगिता बिर्तामोड मेयर कप नेपाल मास्टर्स स्नुकर प्रतियोगिता बिहीबारबाट बिर्तामोडमा शुरू भएको छ।
   बिर्तामोड स्नुकरको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सहआयोजनामा बिहीबारबाट शुरू भएको प्रतियोगिताको उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन्।
  बिर्तामोड स्नुकरका  अध्यक्ष खेम बुढाथोकीको अध्यक्षता तथा बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिर्तामोड नगर खेलकुद विकास समितिका सचिव विशन लिम्वूले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
  कार्यक्रममा पूर्व स्नुकर खेलाडी प्रकाश लिङ्देनले औचित्यमाथी प्रकाश पार्दै  आफूहरूले लामो संघर्ष गरेर बिर्तामोड स्नुकर हाउस स्थापना गरेको बताए।
  उनले बिर्तामोडमा स्नुकरमा स्थापित गर्न खेम बुढाथोकी र नवल अग्रवालले महत्वपूर्ण भूमिका खेलेको बताए।
 कार्यक्रममा प्रमुख अतिथी बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाईंले बिर्तामोडमा खेलकुदको प्रवर्द्धन गर्दै खेलाडीहरूलाई प्रोत्साहन गर्न आफूहरू लागीपरेको बताइन् ।
   प्रतियोगितामा राष्ट्रिय स्नुकर खेलाडी १६ जना र कोशी प्रदेशका १६ जना स्नुकर खेलाडीहरूको सहभागिता रहने बिर्तामोड स्नुकरका सञ्चालक नवल अग्रवालले जानकारी दिए।
  प्रतियोगिताको बिजेतालाई नगद दुई लाख उपविजेतालाई एक लाख रूपैयाँ ,ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने बताउँदै उनले हाईयस्ट ब्रेकरलाई  ३५ हजार , सेञ्चुरी ब्रेकरलाई २५ हजार प्रदान गरिने जनाए। प्रतियोगिताको फाइनल आगामी असार १२ गते हुने उनको भनाई छ।
   कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए।