बिर्तामोड । ‘झापा रक स्टार कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ प्रतियोगिताको तयारी गरिएको छ।
अमृत स्टोर, बिर्तामोडको प्रस्तुति तथा एनएसएस इभेन्टको व्यवस्थापनमा यस बर्ष झापा रक स्टारको तेस्रो संस्करण अन्तर्गत कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज प्रतियोगिता गरिन लागेको उद्देश्यले ‘झापा रकस्टार’ की ईभेन्ट डाइरेक्टर सुनिता तामाङले बताइन् ।
संगीत क्षेत्रमा सक्रिय युवा तथा नवप्रतिभालाई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै पूर्वी नेपालका उदाउँदा ब्यान्डहरूलाई व्यवस्थित मञ्च उपलब्ध गराउने उद्देश्यले ‘झापा रकस्टार’ आयोजना गरिएको उनले बताइन्।
‘झापा रक स्टार’ केवल प्रतिस्पर्धामा सीमित नभई संगीतप्रेमी, कलाकार र दर्शकलाई एउटै मञ्चमा जोड्ने सांगीतिक उत्सवका रूपमा स्थापित हुँदै गएको बताउँदै उनले यस्ता कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान, प्रवर्द्धन तथा सांगीतिक संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने जनाइन्।
उनले अन्य प्रतियोगिता जस्तो यस प्रतियोगितामा कुनै पनि प्रकारको भोटिङ प्रणाली नराखिएको स्पष्ट पारिन्।
यसअघि २०८१ सालमा ‘झापा रकस्टार’को पहिलो संस्करण अन्तर्गत ‘खुला ब्यान्ड ब्याटल’ प्रतियोगिता तथा दोस्रो संस्करणमा ‘अन्तरविद्यालय स्तरीय ब्यान्ड ब्याटल’ प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको बताउँदै उनले तेस्रो संस्करणले पनि कोशी प्रदेशका प्रतिभाशाली ब्यान्डहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको जनाइन्।
अमृत स्टोरका सञ्चालक तथा
‘झापा रक स्टार’ का डाइरेक्टर अमृत पौडेलले ‘झापा रक स्टार कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ प्रतियोगिताको गत वैशाख ५ गतेदेखि जेठ १० गतेसम्म डिजिटल अडिसनका लागि आवेदन खुला गरिएको र पहिलो चरणको डिजिटल अडिसनमा सहभागी १२ वटा ब्यान्डमध्ये उत्कृष्ट सात ब्यान्ड फिजिकल अडिसनका लागि छनोट भएको जानकारी दिए।
उनले बेस क्लिप ब्यान्ड, रागभर्स, स्ट्रबरी ब्यान्ड, जेनम ब्यान्ड, कालचक्र ब्यान्ड, यात्री ब्यान्ड र आवाज ब्यान्ड अर्को चरणका लागि छनोट भएको बताए।
‘झापा रक स्टार कोशी प्रदेश स्तरीय ओपन ब्यान्ड च्यालेन्ज’ प्रतियोगिताका पिआरओ प्रकाश संग्रौलाले आगामी असार १५ गते बिर्तामोडमा हुने फिजिकल अडिसनबाट उत्कृष्ट पाँच ब्यान्ड छनोट गरिने र ती ब्यान्डबीच ग्रान्ड फिनालेमा अन्तिम प्रतिस्पर्धा हुने बताए।
प्रतियोगिताको विजेता ब्यान्डले ५० हजार रुपैयाँ नगदसहित गिटार, पोर्टफोलियो सुट तथा अफिसियल म्युजिक भिडियो निर्माण गर्ने अवसर प्राप्त गर्ने, दोस्रो स्थान हासिल गर्ने ब्यान्डले ३० हजार रुपैयाँ नगद, गिटार र पोर्टफोलियो सुट प्राप्त गर्ने , तेस्रो हुने ब्यान्डले २० हजार रुपैयाँ नगदसहित गिटार र पोर्टफोलियो सुट प्राप्त गर्ने उनले बताए।
कार्यक्रमको सञ्चालन प्रतियोगिताका मिडिया कोअर्डीनेटर तिलक योञ्जनले गरेका थिए।




















