बिर्तामोड।  अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा  अर्जुनधारास्थित शनिश्चरे बजारमा तीनदिने रोजगार मेला बुधबारबाट सुरु भएको छ।
  रोजगार मेलाको उद्घाटन प्रमुख अतिथी अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले गरेका थिए।   रोजगार मेलाले स्थानीय आर्थिक समृद्धिको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले अर्जुनधारावासीलाई  उपलब्ध रोजगारीका अवसरबारे जानकारी गराउने जनाए।

   कार्यक्रममा  अर्जुनधारा नगरपालिकाकी  नगर उपप्रमुख खड्गमाया पराजुलीले अर्जुनधारावासीलाई रोजगार मेलामा सहभागी भई अवसरको सदुपयोग गर्न आग्रह गरिन्। 
   अर्जुनधारा–८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्योगधन्दा स्थापना तथा विस्तारमार्फत रोजगारी सिर्जना गर्न रोजगार  मेलाले मद्दत पुग्ने  बताए।
उनले स्थानीय स्तरमै उपलब्ध कच्चापदार्थको उपयोग गरी उत्पादनमूलक गतिविधिलाई प्रवर्द्धन गर्नुपर्नेमा  जोड दिए।
  अर्जुनधारा उद्योग वाणिज्य संघका अध्यक्ष इन्दिवर खड्काले  दक्ष जनशक्तिको अभाव तथा बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्ने उद्देश्यले रोजगार मेला आयोजना गरिएको बताए। 
   आगामी असार ५ गतेसम्म सञ्चालन हुने रोजगार मेलामार्फत करिब एक सय ८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने लक्ष्य राखिएको उनले बताए।
   रोजगार मेलापछि अदक्ष कामदार तथा रोजगारीको खोजीमा रहेका युवा–युवतीलाई विभिन्न सीपमूलक तालिम प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने योजना समेत रहेको  उनको भनाई छ।
   रोजगार मेलामा  बेकरी सामग्री उत्पादनसम्बन्धी तालिम सञ्चालन सहितको स्टल , घरेलु उत्पादन सामग्रीका आकर्षक स्टल, कृषि सामग्रीका स्टल, रोजगार समन्वयकर्ताको स्टल, विभिन्न शिक्षण संस्था तथा स्वास्थ्य संस्थाका स्टल , मोबाइल तथा मोटरसाइकल बिक्री तथा मर्मतसम्बन्धी स्टलहरू राखिएको अध्यक्ष खड्काले बताए।
  रोजगार मेलामा सीप सिक्न इच्छुक व्यक्तिका लागि विभिन्न विधाका व्यावहारिक तालिमसमेत सञ्चालन गरिएको  बताउँदै  उनले बेकरी तथा इलेक्ट्रीसियनलगायतका क्षेत्रमा छुट्टाछुट्टै स्टलमार्फत प्रशिक्षण प्रदान गरिने जानकारी दिए।
   रोजगार मेलामा रोजगारीका अवसरसँगै मेलामा जातीय झाँकी, सांस्कृतिक कार्यक्रम तथा धार्मिक पर्यटन प्रवर्द्धनसँग सम्बन्धित गतिविधिहरू पनि समावेश गरिएको  बताउँदै  उनले  प्रत्येक दिन साँझ ७ बजेदेखि राति ९ बजेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
    रोजगार मेलाले स्थानीय युवायुवतीलाई रोजगारी र सीप विकासका अवसरसँग जोड्दै स्वरोजगारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको उनको भनाई छ।