बिर्तामोड।   बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ ।  बिर्तामोड नगरपालिकामा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई वालविकासदेखि कक्षा ५ सम्मका विधार्थीहरुको  विद्यालय पोशाक हस्तान्तरण गरिएको हो ।

 बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले अभिभावकले छोराछोरीको लागि विद्यालय पोशाक खरिद गर्न नसक्दा पठनपाठनबाटै बन्चित हुने गरेका कारण विद्यालय पोशाक  वितरण कार्यक्रम ल्याएको बताइन् ।

यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिक्षा क्षेत्रको हरेक क्रियाकलापलाई जिम्मेवारीपूर्वक अगाडि बढाउनु पर्नेमा जोड दिँदै विद्यालयको शौचालय, सरसफाई लगायत भौतिक अवस्थाका बारेमा समेत ध्यान दिन प्रधानाध्यापकहरुलाई आग्रह गरे । बिर्तामोड नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले यस वर्ष तीन हजार ६ सय भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिने जानकारी दिए । बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्रभित्र सन्चालनमा रहेका १८ वटा सामुदायिक र २ वटा धार्मिक विद्यालयमा गत आर्थिक वर्षदेखि पोशाक वितरण गर्दै आएकोउनले बताए । 

कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेल, नगर कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम,  निर्मला सुनुवार, शिक्षक महासंघ बिर्तामोड नगरकमिटी अध्यक्ष युवराज कट्टेल, सचिव  उमा भण्डारी, पूर्व स्रोत व्यक्ति डम्बर बहादुर बस्नेत, शाखा अधिकृत दिनेश कुमार आचार्य, शिक्षा अधिकृत केशर खवास, जानुका रेग्मीलगायत विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरुको  सहभागिता रहेको थियो ।

सोही कार्यक्रमका विच वडा नम्बर २ मा रहेको वीर अमरसिंह माविको तर्फबाट नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरिएको छ । ६५ औं वार्षिकत्सवको अवसरमा तयार पारिएको सम्मान पत्र वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले नगर प्रमुख प्रसाईलाई प्रदान गरे । नगर प्रमुख पदमा निर्वाचित भई समग्र बिर्तामोडको विकास र नगरवासीको हितमा निर्भिक, निर्विवादित, निष्पक्ष ढंगले कार्य गर्ने जिम्मेवारी प्राप्त गर्नु भएकोमा नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।