बिर्तामोड। झापाको बिर्तामोड–१ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कूलमा अध्ययनरत् विद्यार्थीहरुले ज्युँदा भगवान् मानिने वृद्धवृद्धाहरुलाई नगदसहित दैनिक उपभोग्य सामग्री प्रदान गरेका छन् । विद्यालयमा अध्ययनरत् कक्षा १० का विद्यार्थीसहित ५० जनाभन्दा वढी विद्यार्थीहले झापाको कनकाई नगरपालिका माइधार कोटीहोमस्थित राधाकृष्ण मन्दिरको आश्रयमा बस्दै आएका ३० जना वृद्धवृद्धाहरुलाई नगदसहित दैनिक उपभोग्य सामग्री प्रदान गरेको विद्यालयका संस्थापक प्रिन्सिपल सन्तोष सुब्बाले बताए ।  विद्यार्थीहरुलाई किताबी ज्ञानसंगै सामाजिक उत्तरदायित्वको भावना जागृत गराउन  यस्तो कार्यक्रम गरिएको उनले बताए । वृद्धवृद्धा भनेका ज्युँदा भगवान भएकाले उनीहरुलाई माया र सम्मान दिनुपर्ने सन्देश दिन एक दिन भगवानसंग भन्ने कार्यक्रम अन्तर्गत यस्तो कार्य गरेको उनले बताए ।  कार्यक्रममा विद्यार्थीहरुले चामल, आटा, बिस्कुट, मुरै–चिउरा, साबुन लगायतका दैनिक उपभोग्य सामग्रीहरु वृद्धवृद्धाहरुलाई प्रदान गरेको विद्यालयका कोअर्डिनेटर बिक्रम सुव्वाले बताए ।

 बालक्लवकी अध्यक्ष निसिम थाम्सुहाङको अध्यक्षता तथा बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बालक्लवकी अध्यक्ष निसिम थाम्सुहाङले स्वागत मन्तव्य राख्दै यस्तो कार्यक्रमबाट आफूहरु सन्तुष्ट भएको र वृद्धवृद्धाहरुलाई नजिकबाट बुझ्ने अवसर पाएको बताइन् । कार्यक्रमका प्रमुख अतिथि बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले विद्यार्थीहरुलाई किताबी ज्ञानभन्दा पनि यस्ता कार्यक्रमहरुले मानवीय र सामाजिक सेवामा क्रियाशील हुने उत्प्रेरणा जगाउने बताए ।

कार्यक्रममा विद्यार्थीहरुले वृद्धवृद्धाहरुसंग उनीहरुको विगत र वर्तमान अवस्थाको बारेमा जिज्ञाशा राखेका थिए भने वृद्धवृद्धाहरुले विद्यार्थीहरुलाई आफ्ना अनुभव सुनाउँदै आफ्ना अभिभावकलाई सदैव माया र सम्मान गर्न सुझाव दिँदै आशीर्वाद दिएका थिए ।  कार्यक्रममा राधाकृष्ण मन्दिर माइधारकी सदस्य गायत्री खतिवडा, चलचित्र निर्देशक तथा इसिए कोअर्डिनेटर दिनेशराज शर्मा, मावि इञ्चार्ज डिएन लुईँटेललगायतको सहभागिता रहेको थियो । राधाकृष्ण मन्दिर माइधारकी सदस्य राधा खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन विद्यार्थी गरिमा धमलाले गरेकी थिइन्  ।