बिर्तामोड । झापाको बिर्तामोड –१ स्थित बहुजाती, बहुभाषी बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा शुक्रबारको दृश्य बढो रोचक थियो । त्यहाँ कोही नाटक प्रस्तुत गर्दैथिए त कोही नृत्य, र गीत प्रस्तुत गर्दै थिए ।
क्षितिज नाट्य समूहको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक अनुदानमा त्यहाँ भएको सात दिवसीय नाट्य कला सम्बन्धी कार्यशालामा उनीहरुले सिकेको कला त्यहाँ प्रस्तुत गरेका थिए ।
झापा नाटक घरमा गत जेठ २६ गतेदेखि शुरु भएको कार्यशालामा क्षितिज नाट्य समूहको केन्द्र तथा झापा , इलाम, पाँचथर,ताप्लेजुङ शाखाका २१ जना प्रशिक्षार्थि कलाकारहरूले अभिनय, गायन, नृत्य लगायत सिकेर समापनमा आ आफ्नो प्रस्तुति राखेका थिए ।
क्षितिज नाट्य समूह अन्तरगत विभागीय समिति, नाट्य विभागले सहजीकरण गरेको कार्यशालामा क्षितिज नाट्य विभाग प्रमुख गजेन्द्र खतिवडा (पृथक), क्षितिज नाट्य समूहका केन्द्रिय अध्यक्ष माधव कल्पित, चलचित्र निर्देशक दिनेशराज शर्मा लगायतले सहभागी प्रशिक्षार्थि कलाकारहरुलाई प्रशिक्षण दिएर पोख्त बनाएका थिए ।
क्षितिज नाट्य समूहका केन्द्रिय अध्यक्ष माधव कल्पितले कलाकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा झापा नाटक घरमा नाट्य कला सम्बन्धी कार्यशाला गोष्र्ठी संचालन गरिएको उनले बताए ।
आगामी आर्थिक बर्ष २०८१\२०८२ मा झापा नाटक घरमा सार्कराष्ट्र स्तरीय बहुभाषिक नाट्य महोत्सव गरिने भएकाले सो महोत्सवलाई मध्यनजर गरेर कलाकारहरुको स्तर उन्नतिका लागि कार्यशाला आयोजना गरिएको बताउँदै उनले आगामी आर्थिक बर्ष २०८१\२०८२ क्षितिजको भौतिक निर्माणका साथै सार्क केन्द्रीकृत नाट्य महोत्सवको बर्षका रुपमा रहने र सो नाट्य महोत्सवमा सात प्रदेशबाट १४ वटा ,सार्क राष्ट्रबाट १४ वटा र संस्थाको तर्फबाट १ वटागरि २९ वटा नाटक १ महिनाभर मञ्चन गरिने जनाए ।
करिव ६० लाखको लगानीमा सम्पन्न गर्ने गरि आयोजना गर्न लागिएको सार्क केन्द्रीकृत नाट्य महोत्सवलाई मध्यनजर गरेर बजेट बिनियोजन गरि दिनुहुन उनले संघीय, प्रदेश र बिर्तामोड नगरपालिका र बिर्तामोडका सबै वडा कार्यालयहरुका जनप्रतिनिधीहरुलाई आग्रह गरे ।
सरकारी बिद्यालयका न्यून आय श्रोत भएका बिद्यार्थीहरु जसको नाटक घरसम्म पुगेर नाटक हेर्न सक्ने पहुँच र श्रोत छैन त्यस्तालाई सार्क केन्द्रीकृत नाट्य महोत्सवमा बढि भन्दा बढि सहभागी गराउने लक्ष्य रहेकाले आफ्नो वडाभित्र रहेका सरकारी बिद्यालयका करिव २ हजार बिद्यार्थीलाई प्रत्यक्ष राहत पुग्ने गरि भाषा,कला साहित्य संरक्षण तथा प्रबर्दनात्मक शिर्षकबाट बजेट बिनियोजन गरि कला साहित्यलाई जीवन उपयोगी पाठको रुपमा बिकास गरि दिनुहुन उनले कार्यशालामा सहभागी बिर्तामोडका सबै वडा कार्यालयहरुका जनप्रतिनिधीहरुलाई आग्रह गरे ।
झापा नाटक घर निर्माण अनुगमन समितिका अध्यक्ष भोजकुमार मास्केको अध्यक्षता तथा संस्थाका केन्द्रीय सल्लाहकार तथा जग्गादाता युवराज चुडालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य विभागका सचिव ताराप्रकाश भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका परिकल्पनाकार तथा अभियन्ता माधब कल्पितको निर्माण परिकल्पना र क्षतिज नाट्य विभाग प्रमुख गजेन्द्र पृृथकको लेखन निर्देशनमा रहेको नाटक परिबन्धको एक दृश्य प्रस्तुत गरिएको थियो भने कलाकार समीक्षा खतिवडा, राजकुमार भट्टराई ,गजेन्द्र पृथक र बाल कलाकार आषुतोश भट्टराईले नाटक, मुना प्रसार्इले नृत्य र सहभागी सबै कलाकारहरुले स्वागत गान प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।
कार्यक्रममा बिर्तामोडका सबै वडा कार्यालयहरुका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
गत जेठ २६ गते बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सात दिवसीय नाट्य कला सम्बन्धी कार्यशाला उद्घाटन गर्दै क्षितिज नाट्य समूहको अगुवाईमा निर्मित झापाको बिर्तामोड –१ स्थित बहुजाती, बहुभाषी बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर बिर्तामोड नगरको मात्रै नभएर झापा जिल्लाकै गहनाका रुपमा रहेको र यसलाई पुर्णता दिन आफूहरु सदैव लागीपर्ने प्रतिवद्दता जनाएका थिए ।
झापा नाटक घरमा आगामी असार ७ गतेबाट संस्थाका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका परिकल्पनाकार तथा अभियन्ता माधब कल्पितको निर्माण परिकल्पना र क्षतिज नाट्य विभाग प्रमुख गजेन्द्र पृृथकको लेखन निर्देशनमा रहेको नाटक परिबन्धको मञ्चनको तयारी गरिएको समेत पाँचथर शाखा अध्यक्ष नरेन्द्र खतिवडाले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समूहका केन्द्रिय अध्यक्ष माधव कल्पितले गरेको केन्द्रीय उपाध्यक्ष सुजना खतिवडाले जानकारी दिइन् ।