बिर्तामोड । पछिल्लो समय झापामा वेब सिरिज निर्माण हुने क्रम बढेर गएको छ । यसैक्रममा क प्रोडक्सनको ब्यानरमा ‘कम्पनी’ नामक वेब सिरिज निर्माण गरिने भएको छ ।
वेब सिरिज निर्माण टीमले पत्रकार भेटघाट गरी यस्तो जानकारी गराएको हो ।
दिपचन राई प्रस्तुतकर्ता रहेको वेब सिरिज ‘कम्पनी’ को निर्मातामा चन्द्र राई र कार्यकारी निर्मातामा सुरेश राई रहेका छन् । वेब सिरिज ‘कम्पनी’ को कथा, पटकथा लेखन तथा निर्देशन युवा निर्देशक किरण राईले गरेका छन् ।
वेब सिरिज ‘कम्पनी’ को सिनेमेटोग्राफरमा दिलिप थाम्सुहाङ्ग, सुमित राई र शिवराज कोइरालाले गर्नेछन् भने सम्पादन र कलर करेक्सन जगन राईले गर्ने भएका छन् ।
वेब सिरिज ‘कम्पनी’ को लाइन प्रोड्युसरमा राज मुखिया,प्रोडक्सन डिजाइनरमा निशान लुइटेल,संगीत अनिश श्रेष्ठ, कला निर्देशन समिर जवेगूको रहेको छ ।
वेब सिरिज ‘कम्पनी’ को कलाकारहरुमा सूर्यमान लिम्बु, भुवनसिं राई, शान्ता पौडेल, उत्तम राई, मोहन राई, सम्झना राई, अलिसा श्रेष्ठ, सरोज खालिङ, बिराज वाँस्कोटा, तायाहाङ राई, रमेश बुढाथोकी र निशान लुइटेल, तुलसा लिम्बूलगायत रहेका छन् ।
झापा र इलामका बिभिन्न स्थानहरुमा छायाङकन गरिने वेब सिरिज ‘कम्पनी’ आगामी सातादेखि छायाङकनमा जाने भएको छ । पहिलो श्रृङखला ५ भागको रहने वेब सिरिज ‘कम्पनी’ पौषको पहिलो सातादेखि खुडकिलो नामक युटुव च्यानल मार्फत प्रसारण गरिने बताइएको छ ।
बिर्तामोडमा आयोजित पत्रकार भेटघाटमा वेब सिरिज ‘कम्पनी’ का कथा, पटकथा लेखन तथा निर्देशक किरण राईले वेब सिरिज ‘कम्पनी’ डार्क कमेडी जनरामा निर्माण गरिन लागेको बताए ।
झापामा आफूहरुले यस क्षेत्रमा गरेको संघर्षलाई वेब सिरिज ‘कम्पनी’ मार्फत देखाउन खोजेको बताउँदै उनले झापाका युवाहरुले भोगिरहेका कथालाई यस वेब सिरिजले समेट्ने जनाए ।
पहिले आफूहरुले कलाकारिता क्षेत्रमा आउन झापाको बिर्तामोडमा संर्घष गरेको र अहिले राजधानी काठमाडौंमा बसेर संर्घष गरेपनि पहिले गरेको संघर्षलाई फोकस गरेर वेबसिरिज निर्माण गरिन लागिएको उनको भनाई छ ।
लाइन प्रोड्युसर राज मुखियाले स्थानीय कथा, स्थानीय कलाकार र भाषाशैलीको प्रयोगले आफूहरुले उत्कृष्ट वेब सिरिज बनाउने बताउँदै यसमा साथ र सहयोग गर्न उनले सबैलाई आग्रह गरे ।
कलाकार भूवनसिं राईले आफूहरुको भोगाई, संर्घष,अनुभव वेबसिरिजमार्फत प्रस्तुत हुने भएकाले यसलाई राम्रो बनाउन मिहनेत गर्ने बताए ।
कार्यक्रमको सहजीकरण सुनिता तामाङले गरेकी थिइन् ।