बिर्तामोड। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बिर्तामोडको निर्वाचन आगामी मंसीर १४ गते हुने भएको छ।
संस्थाको बिर्तामोडमा सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट यस्तो निर्णय गरिएको हो।
संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाको अध्यक्षता तथा जिल्ला खानेपानी कार्यालय झापाका प्रमुख सुमन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
अध्यक्ष बाॅस्तोलाले संस्थाका समस्या तथा चुनौतीहरु, दीर्घकालीन सोच तथा भावी योजनाहरु, खानेपानीको गुणस्तर तथा नियमित आपूर्ति, बोरिङ, मोटर तथा वितरण प्रणालीको व्यवस्थापन, पूर्वाधार विकास तथा सेवा विस्तार, आर्थिक व्यवस्थापन तथा वित्तिय पारदर्शीता, डिजिटल प्रविधि तथा उपभोक्ता सेवा सुधार, जलस्रोत संरक्षण तथा वातवरणीय सरसफाई, उपभोक्ता सहभागीता तथा जनचेतना, जोखिम व्यवस्थापन तथा आकस्मीक सेवा, अनुगमन मूल्याङ्कन तथा कार्यन्यवनका बिषयमा सहभागीलाई जानकारी गराएका थिए ।
उनले संस्थाका पाँच वटा स्किमबाट १४ वटा समर्सिबल पम्पले दैनिक २ करोड २५ लाख लिटर पानी उत्पादन गरी उपभोक्ताहरुलाई २४ घण्टा पानी उपलब्ध गराएको बताए । आगालगीबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न बारुणयन्त्रलाई आवश्यक पर्ने पानी उपलब्धताका लागि मुक्तीचोकमा फायर हाइडेन्ट राखिएका र आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि विस्तार गरिने उनको भनाई छ ।
विगतमा बिच्छाइएका साना पाइपहरूलाई प्रतिस्थापन गर्दै ठूला पाइपहरू बिछाउने कार्य भइरहेको र आवश्यकता अनुसार अन्य क्षेत्रमा विस्तार गर्ने योजना रहेको, तथा जथाभावी रूपमा जग्गाको प्लटिङ बाटो निर्माणका क्रममा पाइपलाइनमा अत्याधिक क्षति पुग्ने गरेको अध्यक्ष बाँस्तोलाको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै संस्थाकी कोषाध्यक्ष शारदा रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
आर्थिक बर्ष ०८२/०८३ मा विभिन्न शीर्षकबाट कुल आय ९ करोड ६० लाख ५९ हजार ६ सय १५ रुपैयाँ १० पैसा, कुल व्यय ८ करोड १९ लाख १८ हजार ५६ रूपैयाँ ०१ पैसा भई सञ्चालन बचत १ करोड ४१ लाख ४१ हजार ५ सय ५९ रूपैयाँ ०६ पैसा रहेको छ । आर्थिक बर्ष २०८३/ ०८४ को सुरुमा बैंक तथा नगद मौज्यात गरी ६ करोड २५ लाख ९२ हजार ८ सय ५२ रुपैयाँ ६३ पैसा रहेको कोषाध्यक्ष रिजालको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक बिष्णुप्रसाद चुडालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र अडिटर मोहनप्रसाद शिवाकोटीले बित्तिय प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा संस्थाले उत्कृष्ट उपभोक्ताको रूपमा बिर्तामोड नगरपालिका–३ का ७८ वर्षीय लक्ष्मीप्रसाद ओली र बिर्तामोड–५ की ८१ वर्षीय विष्णुमाया गुरुङ र उत्कृष्ट दीर्घसेवी कर्मचारीको रूपमा नरप्रसाद कट्टेललाई सम्मान गरिएको संस्थाका व्यवस्थापक खडगराज गिरीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई, सल्लाहकार लोकबन्धु कन्दङ्वा, जिल्ला समन्वय समिति झापाकी सह संयोजक शान्ता रोक्का, बिर्तामोड आँखा अस्पतालका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाई, राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोड नगर अध्यक्ष दीपक दिनेश दाहाल, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति कुलप्रसाद संग्रौला, राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतम, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष सुव्रत न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव पारसमणि मैनालीले गरेका थिए ।




















