बिर्तामोड। झापा बिर्तामोड-१ देवी पञ्चकन्या उत्तर रहेको झापा नाटक घरमा देशैभरबाट भेला भएका मानिस शनिबार साँझ एकाएक भावविह्वल भए। उनीहरू आँखाबाट वलिन्द्र धारा आँशु चुहाउँदै  भक्कानिए। उनीहरूको रोदनक्रन्दनले वातावरण स्तब्ध बनाएको थियो। 

  झापा नाटक घर पुगेका उनीहरू चर्चित उपन्यासकार लीलबहादुर क्षेत्रीद्वारा लिखित चर्चित उपन्यास ‘बसाइँ’ मा आधारित नाटक हेर्दा आँखाबाट वलिन्द्र धारा आँशु चुहाउँदै  भक्कानिएका हुन्।

  क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष माधव कल्पितको निर्माण परिकल्पना ,  क्षितिज नाट्य प्रतिष्ठानका निवर्तमान नाट्य प्रमुख गजेन्द्र खतिवडा पृथकको निर्देशन तथा झापा नाटक घरका व्यवस्थापक राजकुमार भट्टराईको व्यवस्थापनमा तयार गरिएको र क्षितिज नाट्य प्रतिष्ठानकी  नाट्य प्रमुख पूर्णिमा निर्दोषसहित विवेक मिश्र, राजकुमार भट्टराई, प्रज्वल भट्टराई, दीपा शिवाकोटी, सीताराम भट्टराई, आर्जु पौडेल,  राकेश दर्नाल, दिलकुमार लिम्बू ,  पारस तामाङ र  बाल कलाकार आशुतोष भट्टराईजस्ता कलाकारहरूको शशक्त अभिनयले  भरिपूर्ण नाटक ‘बसाइँ’ ले  दर्शकलाई रूवाएको थियो।           क्षितिज नाट्य प्रतिष्ठानको नाट्य विभागमा आवद्ध कलाकारहरूले नेपाली समाजमा व्याप्त गरिबी, चरम आर्थिक अभाव, साहुको चक्रबृद्दि व्याज, हेपाह प्रवृत्ति, घर छोडेर ‘बसाइँ’ हिँड्नुपर्ने बाध्यता,  र मानवीय संवेदनालाई जीवन्त रूपमा गरेको अभिनय गरेको नाटक ‘बसाइँ’ हेर्दा देशका विभिन्न ६६  जिल्लाबाट आएका दर्शकलाई आफ्नै कथा वोलिरहेको  अनुभूति गराएको थियो।

   नाटक ‘बसाइँ’ हेर्दा उनीहरू आफ्ना विगत सम्झिरहेका देखिन्थे भने पहिले साहुले चक्रबृद्दि व्याजका कारण घर खेत हडपे जस्तै हालको परिवेशमा बैंक तथा लघुबित्तले ऋणको बहानामा आफूहरूको घर खेत हडपेको आभास भएको भन्दै उनीहरू भक्कानिन्थे ।
  झापाका मेडिकल व्यवसायी तथा नेपाल पथ पार्टीका अध्यक्ष दुर्गा प्रसाईंले झापा नाटक घरमा तुलसीको मठमा जल अर्पण गर्दै नाटक ‘बसाइँ’ को शुभारम्भ गरेको नाटक ‘बसाइँ’ को पहिलो मञ्चन हेर्न देशका ६६ जिल्लाबाट आएका दर्शकहरूले  उत्साहजनक सहभागिता जनाएका थिए। 
   करिब दुई घण्टा झापा नाटक घरमा नाटक ‘बसाइँ’ हेर्न आएका दर्शकहरूले क्षितिज नाट्य प्रतिष्ठानको नाट्य विभागमा आवद्ध कलाकारहरूको शशक्त अभिनयले भरिपूर्ण नाटक ‘बसाइँ’ हेरेपछि स्वतस्फूर्त रूपमा नाटक ‘बसाइँ’ का कलाकारहरूलाई  प्रोत्साहन गर्दै आर्थिक सहयोग समेत गरेका थिए।
   कलाकारहरूको मेहनत, समर्पण र रंगकर्मप्रतिको निष्ठाको प्रशंसा गर्दै उनीहरूले आगामी दिनमा पनि नेपाली रंगमञ्चलाई साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
   क्षितिज नाट्य प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष माधव कल्पितले  चर्चित उपन्यासकार लीलबहादुर क्षेत्रीद्वारा लिखित चर्चित उपन्यास ‘बसाइँ’ मा आधारित नाटक झापा नाटक घरमा मञ्चन गरी समाजको यथार्थ चित्रण ,  मानवीय पीडा र संवेदनालाई दर्शकको मनमस्तिष्कसम्म पुर्‍याउन लागीपरेको बताए।

   ‘बसाइँ’ जस्तो चर्चित साहित्यिक कृतिलाई मञ्चमा उतारेर नयाँ पुस्तालाई नेपाली समाजको यथार्थ र विगतको सामाजिक परिवेशसँग परिचित गराउने प्रयास गरिएको बताउँदै उनले क्षितिज नाट्य प्रतिष्ठानको नाट्य विभागमा आवद्ध कलाकारहरूको जीवन्त अभिनयलाई प्रोत्साहन गर्न एक पटक नाटक ‘बसाइँ’ हेर्न सबैलाई आग्रह गरे।
   नाटक ‘बसाइँ’ का व्यवस्थापक राजकुमार भट्टराईले नाटक ‘बसाइँ’ कात्तिक १४ गतेदेखि  मंसीर १५ गतेसम्म झापा नाटकघरमा नियमित मञ्चन गरिने जानकारी दिए ।