बिर्तामोड। अर्जुनधारा कैलासघाट मोक्ष जल व्यवस्थापन समितिले अर्जुनधारा जलेश्वर धामबाट कैलासघाटमा जल पुर्‍याउने भएको छ।
  श्रम संस्कृती पार्टी झापाको अगुवाईमा आगामी कात्तिक १७ गते शिलान्यास गरिने अर्जुनधारा कैलासघाट मोक्ष जल व्यवस्थापन समितिका सह संयोजक सुजन शिवाकोटीले बताए।
   कार्यक्रममा अर्जुनधारा -७ का वडाध्यक्ष तथा अर्जुनधारा कैलासघाट मोक्ष जल व्यवस्थापन समितिका सल्लाहकार संयोजक गोविन्द खतिवडाले अर्जुनधारा जलेश्वर धामबाट कैलासघाटमा जल पुर्‍याउन सहयोग गर्न सबैलाई आग्रह गरे।
   कार्यक्रममा श्रम संस्कृती पार्टीका केन्द्रीय सदस्य तथा अर्जुनधारा कैलासघाट मोक्ष जल व्यवस्थापन समितिका सल्लाहकार सह संयोजक हिमालयप्रकाश कन्दङ्वाले आगामी कात्तिक १७ गते हुने शिलान्यास कार्यक्रममा सहभागिता जनाउन सबै श्रमदाताहरूलाई आग्रह गरे।
   अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नीप्रसाद सिग्देलले अर्जुनधारा जलेश्वर धामबाट अमृत समान जल कैलासघाटमा पुर्‍याएर चिता पखाल्दा स्वर्गमा पुग्ने विश्वास व्यक्त गरे।
    श्रम संस्कृती पार्टीका झापा अध्यक्ष  तथाअर्जुनधारा कैलासघाट मोक्ष जल व्यवस्थापन समितिका संयोजक केशब भण्डारीले अर्जुनधारा जलेश्वर धामबाट कैलासघाटमा जल पुर्‍याउन श्रमदानसहित आर्थिक सहयोग गर्न सबैलाई आग्रह समेत गरे। शिलान्यास कार्यक्रमको उद्घाटन श्रम संस्कृती पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज साम्पाङले गर्ने उनको भनाई छ।

   प्रारम्भिक लगानी १६ लाख रुपैयाँ रहेको र तीन महिनाभित्र निर्माण गरिने उनले बताए।

   कार्यक्रमको सञ्चालन श्रम संस्कृती पार्टीका झापा सचिव सिवन सोराली मगरले गरेका थिए।