बिर्तामोड। झापाको बिर्तामोडमा 'प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता'को  तयारी गरिएको छ । वडा खेलकुद विकास समिति बिर्तामोड १ को आयोजनामा तथा  बिर्तामोड नगर खेलकुद बिकास समितिको सह आयोजनामा यही  चैत्र ३० र ३१ गते बिर्तामोडमा 'प्रथम वार्डस्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता'को तयारी गरिएको  वडा खेलकुद विकास समिति बिर्तामोड १ का अध्यक्ष केशब पोख्रेलले बताए।
बिर्तामोड वडा नम्बर ३ स्थित मेहरमान प्रतिष्ठानको कभर्डहलमा चैत्र ३० र ३१ गते विहान ८ बजेदेखि हुने प्रतियोगितामा सहभागी हुन २ जना खेलाडीको उमेर जोड्दा ९० बर्ष  भन्दा बढी  हुनुपर्ने बताउँदै उनले एक खेलाडीको उमेर ४० बर्षभन्दा बढी हुनुपर्ने अन्यथा सहभागी हुन नपाइने जनाए।
  प्रतियोगितामा एउटै वडाका जोडी खेलाडीको मात्र सहभागिता जनाउने र बिर्तामोडका १० वटै वडाबाट खेलाडी सहभागी हुने संयोजक रामअवतार घिमिरेले जानकारी दिए।
प्रतियोगिताको विजेता पहिलो, दोश्रो र तेश्रोले क्रमस नगद २० हजार , १० हजार र ५ हजारसहित मेडल तथा ट्रफी प्राप्त गर्ने वडा खेलकुद विकास समिति बिर्तामोड १ का सचिव प्रदीप लिम्बूले बताए।
  वडा खेलकुद विकास समिति बिर्तामोड १ का अध्यक्ष केशब पोख्रेल, उपाध्यक्ष सुमन्ता कार्की, सदस्यहरु हेमन्त प्रसाई, सुरज धिमाल, धनप्रसाद शिवाकोटीलगायतले प्रतियोगिता सफल बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।