बिर्तामोड। बडी ग्यारेज बिर्तामोडको आयोजनामा तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता आयोजक समितिका सचिव सन्तोष उप्रेतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगिताको ट्रफि समेत सार्वजनिक गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश पूर्व अध्यक्ष टीकाराज ढकाल , भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रतियोगिताका पूर्व अध्यक्ष अर्जुन मैनालीलगायतले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष आदित्य पराजुलीले ५५ केजीदेखि ७५ केजी माथीसम्म ६ विधामा खेल हुने र १ सय ५० खेलाडीहरूको सहभागिता रहने जनाए। प्रतियोगिताको ओभरअल बिजेताले ५ लाख, दोस्रो ३ लाख, तेस्रो २ लाख, चौथो १ लाख, पाँचौं ७५ हजार र छैठौंलाई ५० हजार रूपैयाँ प्राप्त गर्ने उनको भनाई छ।
उनले झापादेखि बाहिरका खेलाडीहरूलाई खान र भत्ताको समेत व्यवस्था गरिएको बताए। भदौ २७ गते प्रि जजिङ र भदौ २८ गते प्रतियोगिताको फाइनल खेल गरिने उनको भनाइ छ।
कार्यक्रम संयोजक तथा बडी ग्यारेज बिर्तामोडका सञ्चालक राम दाहालले तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहने बताए।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेको उपाध्यक्ष निर्मलराज खत्रीले बताए।




















