बिर्तामोड। झापाको बिर्तामोड ५ मा रहेको न्युटन्स् एजुकेशन एकेडेमीले २३ औं बार्षिकोत्सवको अवसरमा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईसहित नौ जनालाई सम्मान, अभिनन्दन, तीन सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना र दुई संस्थालाई सहयोग गरेको छ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाई, उत्कृष्ट शिक्षक केवल सापकोटा, सेकेण्डरी ईञ्चार्ज शिक्षक नोएल परेरा, उत्कृष्ट पत्रकार सन्तोष न्यौपाने,उत्कृष्ट अभिभावक मदनगोपाल सुब्बा, मेनुका ओली लोहनीलाई सम्मान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिक्षासेवी गौतम शर्मा शिवाकोटीलाई अभिनन्दन गरिएको कार्यक्रममा कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु सविता न्यौपाने, श्रेयसी कार्की र संस्कार भट्टराईलाई सम्मान गरिएको थियो।
त्यस्तै न्युटन्स् एजुकेशन एकेडेमीले २३ औं बार्षिकोत्सवको अवसरमा झापा गोल्डकपलाई एक लाख रूपैयाँ हस्तान्तरण गरेको थियो भने मदरसा तालीमूल कुरान आधारभूत बिद्यालय बिर्तामोड ३ लाई ५० हजार रूपैयाँ हस्तान्तरण गरेको थियो।
झापा गोल्डकपका सल्लाहकार प्रशान्त भण्डारीले झापा गोल्डकपलाई प्रदान गरेको एक लाख रूपैयाँ ग्रहण गरेका थिए भने मदरसा तालीमूल कुरान आधारभूत बिद्यालयका अध्यक्ष अफ्रोज खान पठानले मदरसा तालीमूल कुरान आधारभूत बिद्यालय बिर्तामोड ३ लाई प्रदान गरेको ५० हजार रूपैयाँ ग्रहण गरेका थिए।
सोही कार्यक्रममा न्युटन्स् एजुकेशन एकेडेमीले सरस्वती माध्यमिक विद्यालय बिर्तामोड ६ बुट्टाबारी, आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय घैलाडुब्बा र सरस्वति मावि आठराई हाङपाङलाई तीन लाख १० हजार रूपैयाँको अक्षयकोष स्थापना गरेको घोषणा गर्दै रकम हस्तान्तरण गरेको थियो।
विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोपीकृष्ण प्रसाईंको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयकी छात्रा अनन्या खरेलले स्वागत गरेकी थिइन् ।
विद्यालयका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईंको स्मरण गर्दै एक मिनेट मौनधारण गरी बाह्मणद्वारा स्वस्तिबाचनसहित शुभारम्भ गरिएको
कार्यक्रममा विद्यालयको गतिविधिसहित भावी कार्यक्रमबारे विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले प्रकाश पारेका थिए।
कार्यक्रममा प्रमुख अतिथी गुरूङ, सम्मानित व्यक्तित्व मदनगोपाल सुब्बा लगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, नाटक हाम्रो जिम्मेवारी, संगीत धुन, गजल प्रस्तुत गरेका थिए।
विद्यालयका निर्देशक आशिष प्रसाईंले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन साहित्यकार लीला अनमोल र शिक्षक पवित्रा पौडेलले गरेका थिए।




















