बिर्तामोड। झापाको बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ शनिबारबाट शुरू भएको छ।
बिर्तामोड -३ स्थित डोमालाल राजवंशी रंगशालामा शुरू भएको पहिलो खेलमा आयोजक टिम झापा–११ फुटबल क्लबले बिजयी हुँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
नेपाल पुलिस क्लब र आयोजक टिम झापा–११ फुटबल क्लबबीच भएको पहिलो खेलमा नेपाल पुलिस क्लबलाई १ का बिरूद्द २ गोल गर्दै झापा–११ फुटबल क्लब बिजयी भएको हो ।
झापा–११ फुटबल क्लबका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए ।
खेलको १२ औँ मिनेटमा नेपाल पुलिस क्लबका धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका थिए ।
झापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्कायो ।
झापा–११ फुटबल क्लबका लागि राजेश दाहालले गरेको प्रहारलाई डिबक्समा अनमार्क रहेका शिशिर लेखीले गोल गर्न सफल भए । झापा–११ फुटबल क्लबका लागि निर्णायक गोल भने राजेश दाहालले ५९ औँ मिनेटमा शिशिर लेखीको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए। उनको गोल नै झापा–११ फुटबल क्लबलाई बिजयी बनाउन सफल भयो ।
प्रतियोगिताको प्लेयर अफ द म्याच विजेता टिम झापा–११ फुटबल क्लबका राजेश दाहाल भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
यसैबीच ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को उद्घाटन प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन् ।
झापा गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख प्रसाईंले मैदानको संरचना निर्माण गर्न नगरपालिका तयार रहेको बताउँदै जमिनको स्वामित्वको विवादका कारण लगानीको वातावरण नबनेको बताइन् ।
कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले झापा गोल्डकपले नेपालीलाई एकताको सुत्रमा बाँध्ने माध्यम भएको दाबी गरे । उनले झापालाई फुटबलको हब बनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताए ।
झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले झापा गोल्डकपले नेपालको फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल हुँदै गएको बताए ।
कार्यक्रममा जग्गादाता डोमालाल राजवंशीको शालिक अनावरण गरिएको थियो थियो भने डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारमध्ये छोरी सम्पति राजवंशीलाई १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको सम्मानमा पूर्वेली युथ क्लबले मार्चपास गरेको पूर्वेली युथ क्लबका अध्यक्ष दीपेन चौधरीले बताए।
आगामी फागुन ४ गतेसम्म बिर्तामोड- ३ स्थित डोमालाल राजवंशी रंगशालामा हुने ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को विजेताले नगद १५ लाख रुपैयाँ र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ , ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए।
त्यस्तै ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को उत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) लाई मोटरसाइकल प्रदान गरिने तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले बताए।
प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २५ हजार रुपैयाँ प्रदान गरिने र सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रशिक्षकलाई नगद ३५ हजार प्रदान गरिने बताउँदै उनले विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठसहितको टोलीले गरेको जानकारी दिए ।
त्यस्तै ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ मा आयोजक झापा ११ फुटबल क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चर्च ब्वाइज युनाइटेड, मछिन्द्र क्लब, लालीगुराँस एशोसिएसन नेपाल पोखरासहित भुटानको रोयल थिम्पु कलेज, भारतको सिग्लिङ स्पोर्टिङ क्लब र मलेसियाको एन पेनाङ एफसीसहितले प्रतिस्पर्धा गर्ने झापा गोल्डकपका महासचिव बुद्धभुषण योञ्जनले जानकारी दिए।
भोलि आइतबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।
झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।




















