बिर्तामोड। बिर्तामोड चिल्ड्रेन हस्पिटल बिर्तामोड-१ झापाले वालवालिकाहरूको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
नववर्षको अवसरमा आगामी बैशाख ७ गतेदेखि २१ गतेसम्म वालवालिकाहरूको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको बिर्तामोड चिल्ड्रेन हस्पिटलकी सिइओ सुजता मैनाली आचार्यले बताइन्।
उनले शिविर अवधिभर नवजात शिशुसहित वालवालिकाको उपचार ओपिडी सेवालाई नि: शुल्क गरिएको बताउँदै ल्याबसहित अन्य परिक्षणमा समेत २० प्रतिशत छुट र औषधिमा समेत विशेष छुटको व्यवस्था गरिएको जनाइन्।
त्यस्तै उनले अस्पतालले विपन्न तथा ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीलाई स्थानीय तहको सिफारिसमा जुनसुकै समयमा पनि २० प्रतिशत छुट दिइने र स्थानीय तह तथा संघ संस्थाको समन्वयमा जुनसुकै स्थानमा पनि स्वास्थ्य शिविरहरू सञ्चालन गरिने बताइन् ।
कार्यक्रममा अस्पतालका प्रवन्ध निर्देशक डा.रूपकप्रसाद आचार्यले अस्पतालले अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजीको समेत व्यवस्थासहित २४सै घण्टा सेवा प्रदान गरिरहेको बताए।
समुदायमा बसोबास गर्ने आमाबाबुलाई बाल स्वास्थ्यको महत्व बुझाउँदै उनीहरूको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन बिर्तामोड र आसपासका क्षेत्रका बालबालिकाहरूमा हुने स्वास्थ्य सम्बन्धी जटीलताहरू चाँडै पहिचान गरी उचित उपचार गराउन शिविरको आयोजना गरेको उनले बताए।
अस्पतालका सल्लाहकार संयोजक मदनगोपाल सुब्बाले बालबालिकाको मात्रै उपचार गर्ने उद्देश्यले सञ्चालनमा आएको अस्पतालले सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरमा वालरोग परीक्षण तथा पोषण सम्वन्धी समस्याको जाँच र उपचार अनुभवी नवजात शिशु तथा वालरोग बिशेषज्ञ डा. रूपक आचार्यसहित चिकित्सकको टोलीले गर्ने भएकाले एकपटक आफ्ना बालबालिकालाई स्वास्थ्य परीक्षणका लागी अस्पताल आएर नि:शुल्क स्वास्थ्य परीक्षणको फाइदा लिन अभिभावकहरूलाई आग्रह गरे।
अस्पतालकी अध्यक्ष लीला मैनालीले बिर्तामोडमा बालबालिकाहरूको उपचारका लागी छुट्टै बाल अस्पताल नभएको अवस्थामा आफूहरूले बिर्तामोड चिल्ड्रेन हस्पिटल सञ्चालनमा ल्याएर हजारौं बालबालिकाहरूको सफल उपचार गरेको बताइन्।
उनले निकट भविष्यमा सुविधासम्पन्न भवन निर्माण गरेर उक्त भवनबाट अस्पताल सञ्चालनमा ल्याउने बताइन् । अस्पतालमा उपचार गराउन महंगो शुल्क तिर्नुपर्छ भन्ने भ्रमलाई चिर्दै उनले बिर्तामोड चिल्ड्रेन हस्पिटलले सर्वसुलभ दरमा बालबालिकाहरूको उपचार गरिरहेको बताइन् ।
कार्यक्रमको सञ्चालन गोमा सिटौलाले गरेकी थिइन्।

















