बिर्तामोड । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा भएको छ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान प्रविधि विभागको आयोजनामा बिर्तामोड–५ स्थित देबी माबिमा आगामी जेठ २४, २५ र २६ गते हुने कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी पूरा भएको नेकपा एमाले कोशी प्रदेश कमिटी विज्ञान प्रविधि विभागका प्रमुख गणेश पोखरेलले बताए ।
नेकपा एमाले कोशी प्रदेश कमिटी विज्ञान प्रविधि विभागका प्रमुख गणेश पोखरेलको अध्यक्षता तथा नेकपा एमाले कोशी प्रदेश ईञ्चार्ज शेरधन राईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी विज्ञान प्रविधि विभागका प्रमुख गणेश पोखरेलले कोशी प्रदेश स्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको अहिलेसम्मको तयारी बारे जानकारी गराएका थिए ।
उनले कोशी प्रदेश स्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको मुख्य प्रायोजन एनसेलले गर्ने बताउँदै प्रदर्शनीमा एक सय विद्यालयको सहभागिता रहने जनाए।
अहिलेसम्म अधिकांश स्टलहरु निर्माण र बुकिङ भइसकेको र एलइडीसहितको स्टेजबाट प्रदर्शनी देखाइने बताउँदै उनले रोवटिक एसोशिएसनले रोवर्ट प्रदर्शनी गर्ने , राम लक्ष्मण इनोभेशन प्रालिले भोटिङ मेसिनसहित ७० प्रकारका मेसिनको प्रदर्शनीसहित जानकारी गराउने जानकारी दिए ।
प्रदर्शनीमा काठमाडौंको मेगा, एम्बिशन, नेपाल इन्जिनियरिङ कलेजका कलेजले स्टेज बुकिङ गरिसकेको र अरूहरूले पनि स्टेज बुकिङ गर्नेक्रम जारी रहेको विभागका प्रमुख पोखरेलले जानकारी दिए ।
कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा एसईईदेखि कक्षा १२ सम्मका विद्यार्थीको सहभागिता रहने उनले बताए।
प्रदर्शनीको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने उनले बताए।
अहिलेसम्म कोशीका १२ वटा जिल्लाका ७० वटा विद्यालयले सहभागिता जनाउने प्रतिबद्धता जनाएको र अन्यसंग कुरा भइरहेको उनको भनाइ छ।
कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी गराउने बताउँदै उनले ५ सय विद्यार्थीले प्रतिस्पर्धामा भाग लिने जानकारी दिए।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने र अन्य २५ वटा प्रदर्शनीलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने विभाग प्रमुख पोख्रेलले जानकारी दिए ।
तीन दिनमा एक लाख बिद्यार्थीहरुले विज्ञान प्रदर्शनीको अवलोकन गर्ने र उनीहरूले एआईसहित अन्तरिक्ष विज्ञान समेतको अध्ययन र अवलोकन गर्ने उनले बताए।
कार्यक्रम सम्पन्न गर्न ४४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको बताउंदै उनले प्रदर्शनीस्थलमा २० वटा व्यावसायीक शैक्षिक स्टल राखिने र उनीहरूबाट १ लाखका दरले शुल्क लिइने र कार्यक्रमका लागि अपुग रकम दाताहरुबाट सहयोग लिइने जनाए।
प्रदर्शनीस्थलमा अन्य सहभागी विद्यालयलाई निःशुल्क स्टल उपलब्ध गराउने उनको भनाई छ ।
कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले कोशी प्रदेश ईञ्चार्ज शेरधन राईले नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडमा हुने प्रदर्शनी ऐतिहासिक प्रदर्शनी भएको बताए। विज्ञान तथा प्रविधि क्षेत्रविना मुलुकमा समृद्धि नआउने भएकाले विज्ञान तथा प्रविधि सम्बन्धि खोज तथा अनुसन्धान गर्न प्रदर्शनी फलदायी हुने उनले बताए। उनले यो प्रदशनी सबैको साझा भएकाले सहभागि हुन सबैलाई आग्रह गरे।
कार्यक्रमको सञ्चालन विभागका सदस्य लक्ष्मीप्रसाद बांस्कोटाले गरेका थिए।