बिर्तामोड । सुनचाँदी व्यवसायी संघ झापाका सुनचाँदी व्यवसायी, कालीगढ, कर्मचारी आन्दोलित बनेका छन् ।
सरकारले आर्थिक बर्ष २०८२/०८३ को बजेटमा सुनमा करबृद्दी गरेको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । सरकारले आर्थिक बर्ष २०८२/०८३ को
बजेटमा सुनमा २ प्रतिशत विलासित कर, वहुमुल्य हिरा , जुवाहरत र पत्थरमा १३ प्रतिशत भ्याट लगाएकाले त्यसलाई खारेज गर्नुपर्ने , उपभोक्ता , कर्मचारी, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर्नुपर्ने सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीले माग गरे ।
सुनचाँदी ब्यवसायीहरुले नयाँ कर प्रणालीको बिरोध गर्दै हातमा कालो पट्टी बाँधेर काम गरिरहेको उनले बताए। हाल लागू भएको १३ प्रतिशत भ्याट तत्काल हटाउन र सरलीकृत कर नीतिहरू निर्माण गर्न उनले माग गरे । कर संरचना परिवर्तन गर्नुपूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरेर करको दायरा बढाउन सुनचाँदी ब्यवसायीहरुको माग छ । निर्यात हुने सुनचाँदीमा ५ प्रतिशत टीडीएस हटाउने व्यवस्था मिलाउन समेत माग गरेका छन् ।सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको भन्दै त्यसलाई फिर्ता लिन उनले माग गरे ।
हालको कर संरचनाले व्यवसाय, रोजगारी तथा बजारमा प्रतिकूल असर पार्ने खतरा रहेको बताउँदै उनले भारतीय बजारको तुलनामा नेपाली सुनचाँदी गहनाको मूल्य अत्यधिक महँगो हुने स्थिति आउँदा कालोबजारी तथा चोरी पैठारी बढ्न सक्ने चिन्ता व्यक्त गरे । व्यवसायीहरुले सरकारलाई अविलम्ब वैठक गरी समस्या समाधान गर्न आग्रह गरेका छन्, अन्यथा थप आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन्।
सुन तथा सुनका गहनामा लगाइएको दुई प्रतिशत र बहुमूल्य हिरा जवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत कर भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार मूल्य ६ कायम गर्नुपर्ने, सुनचादीको कारोबारको लागि प्रष्ट निति नियमाबली निर्माण गरीनुपर्ने लगायतको माग आफूहरूको रहेको सुनचाँदी व्यवसायी संघ झापाका कोषाध्यक्ष अभिशेक गहतराजले बताए। उनले निर्यातको ढुवानीमा दुई दशमलव ५ प्रतिशत टीडीएस लाग्ने व्यवस्था खारेज गर्नुपर्ने, विश्व वजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागी अन्तर्राष्ट्रिय मान्यताप्राप्त ल्यावको व्यवस्था गरिनुपर्ने, सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडो भन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गर्नुपर्ने लगायतको माग रहेको बताए।
सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका तृतीय उपाध्यक्ष रूपदल विश्वकर्मा, केन्द्रीय सदस्य राजकुमार गुप्ता, प्रदेश सहकोषाध्यक्ष वावुराम पोर्तेल, सुनचाँदी व्यवसायी संघ झापाका सल्लाहकार बलराम कार्कीलगायतले सरकारले लगाएको अव्यवहारिक कर खारेज गर्नुपर्ने बताए। सुनचाँदी व्यवसायी संघ झापाले बिहीबार र शुक्रबार बिर्तामोडका सुनचाँदी पसल बन्द गरी शुक्रबार झापाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरूको सहभागितामा शान्तिपूर्ण र्याली निकालिने जनाए । बिहीबार उनीहरूले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौं, उपभोक्ता, कालिगढ तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । बुधबार आफ्ना मागहरूको सम्बन्धमा झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएको सुनचाँदी व्यवसायी संघ झापाका कोषाध्यक्ष अभिशेक गहतराजले बताए।