बिर्तामोड। संयुक्त भूपू सुरक्षाकर्मी राष्ट्रिय स्तरीय प्रथम ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। किराँत याक्थुङ चुम्लुङ नगर शाखा बिर्तामोडको आयोजनामा आगामी बैशाख २२, २३,२४ गते झापाको अर्जुनधारा ६ महानन्द चोकपश्चिम अर्जुनधारा ब्याडमिन्टन हलमा संयुक्त भूपू सुरक्षाकर्मी राष्ट्रिय स्तरीय प्रथम ब्याडमिन्टन प्रतियोगिता र कोशी प्रदेशस्तरीय सिभिल बी लेभल खुल्ला र भेट्रान्स डबल ४५ बर्ष माथिको ब्याडमिन्टन प्रतियोगिता हुने भएको मूल आयोजक समिति सदस्य तथा व्यवस्थापक क्याप्टेन सिके बेघाले जानकारी दिए।
उनले रिटायर्ड ब्रिटिस आर्मी, इण्डियन आर्मी, नेपाल आर्मी,सिङ्गापुर पुलिस, नेपाल एपिएफ , नेपाल प्रहरी जनपद, हरूबीच खेलको माध्यमबाट आपसी भाइचारा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
नेपालमै पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको बताउँदै उनले देशभरका रिटायर्ड आर्मी र सिभिल गरी एक सय टीमभन्दा बढी सहभागिता रहने बताए। सिभिलहरूका लागी प्रदेशस्तरीय बी लेभल र भेट्रान्स ४५ बर्षमाथी खेलाडीहरूको सहभागिता रहने उनको भनाई छ। प्रतियोगितामा १० लाख रूपैयाँ खर्च हुने बताउँदै उनले खेलाडीहरूलाई खाना बस्नलगायतको सुविधा उपलब्ध गराउने जनाए।
प्रतियोगिताको ५० बर्षभन्दा मुनीको भूपू पुरूष डबल्सतर्फ प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, ५० बर्षभन्दा माथीको भूपू पुरूष डबल्सतर्फ प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, कोशी प्रदेश बी लेभल सिभिल खुल्लातर्फ प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, कोशी प्रदेश भेट्रान्स डबल्स ४५ वर्षदेखि माथी प्रथम पुरस्कार ४१ हजार, द्वितिय पुरस्कार ३० हजार र तृतिय पुरस्कार १० हजार, भूपू डिपेन्डेसन महिला डबल्सतर्फ प्रथम पुरस्कार २५ हजार, द्वितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार ७ हजार ५ सय, भूपू र डिपेन्डेसन मिक्स डबल्सतर्फ प्रथम पुरस्कार २५ हजार, द्वितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार ७ हजार ५ सय रूपैयाँ रहेको उनले बताए। प्रतियोगिताको उद्घाटन २२ गते बिहान ८ बजे हुने उनले बताए।
निम्जीफुङ लिम्बू फिल्मकी प्रोडुसर तथा कलाकार साबित्रा लाबुङको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष कुमार गिरी, किराँत याक्थुङ चुम्लुङ झापा जिल्ला सचिव भीममाया नेम्बाङ कन्दङ्वा, आयोजक समितिका कोषाध्यक्ष नन्दलाल लिम्बू, किराँत याक्थुङ चुम्लुङ बिर्तामोड नगर सदस्य गंगा काम्बाङ , अर्जुनधारा ब्याडमिन्टन हलका सञ्चालक रमेश प्रसाई, ब्याडमिन्टन खेलाडी सञ्जय भक्तराजलगायतले प्रतियोगिता सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन झापा जिल्ला ब्याडमिन्टन संघका सचिव शैलेन्द्र कुरुम्बाङले गरेका थिए।



















