बिर्तामोड । वैदिक सनातन धर्म संरक्षण समिति जिल्ला झापाको आयोजनामा त्रि दिवसीय यज्ञोपवीत निर्माण प्रशिक्षण कार्यक्रम शुरु भएको छ । 
संस्कार, संस्कृति जगेर्नार्थ यज्ञोपवीत   जनैको महत्त्व दर्साउन शास्त्रीय विधिबाट निर्मित यज्ञोपवीत जनैको प्रर्बधनका लागि त्रि दिवसीय यज्ञोपवीत निर्माण प्रशिक्षणको  आयोजना गरिएको संस्थाका अध्यक्ष पंडित रामप्रसाद ओझाले जानकारी दिए।
संस्थाका अध्यक्ष पंडित रामप्रसाद ओझाको अध्यक्षता तथा आचार्य दीपक पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा  संस्थाका सदस्य पंडित मदन अधिकारीले स्वागत गरेका थिए।
कार्यक्रममा संस्थाका उपाध्यक्ष अर्जुनधारा जलेश्वरधाम धामका मूल अर्चक अग्नीप्रसाद सिग्देलले औचित्यमाथी प्रकाश पारेका थिए। तालिम पछि  जनै उत्पादन गरी  विदेशी मुलुकबाट  हुने करौडौं रूपैयाँको जनैको आयात रोक्न आफूहरू तयार हुने उनको भनाई छ।
कार्यक्रममा प्रमुख अतिथी पराजुलीले यज्ञोपवीत निर्माण सम्बन्धि शास्त्रीय अवधारणा ,इतिहास र विधीविधानका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशाला साधुटारका आचार्य लक्ष्मीप्रसाद खतिवडा , आचार्य दुर्गाप्रसाद खतिवडा, साङ्गवेद संस्कृत माविका पूर्व प्रधानाध्यापक आचार्य दामोदर न्यौपाने, आचार्य विष्णुभक्त भण्डारी, बिर्तामोड नगर कार्यपालिका सदस्य तीला गौतमलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
आयातित जनै विधिअनुसार नरहेको हुँदा शास्त्रीय विधिअनुसारका जनै निर्माण गर्नका लागि तालिमको संचालन गरिएको संस्थाका अध्यक्ष पंडित रामप्रसाद ओझाले जानकारी दिए।
जनै निर्माण गर्ने पेशा नै हराउँदै गएपछि प्राचीनदेखिको सस्कृतिको संरक्षणसंगै जनै बनाउने सीपलाई पेशा व्यवसायका रुपमा समेत विकास गर्न सहयोग पुग्ने उद्देश्यले तालिमको आयोजना गरिएको उनको भनाई  छ ।
जनैको महत्व पछिल्लो समय युवापुस्ताले नबुझ्दा संस्कृति समेत संकटमा पर्ने  उनले चिन्ता व्यक्त गरे ।
   विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने र उक्त जनै विधिपूर्वक समेत नहुने हुँदा तालिम समेत सञ्चालन गरेर संस्कृति संरक्षणमा जुट्न तालिम कार्यक्रम कोशेढुङ्गा सावित हुने उनको भनाई छ। 
त्रि दिवसीय यज्ञोपवीत निर्माण प्रशिक्षणमा कोमलनाथ अधिकारी , राजन निरौला, हरिप्रसाद पौडेल, सम्राट गौतम, गायत्रीप्रसाद सिग्देल, बालकृष्ण खतिवडाले  यज्ञोपवीत जनै बनाउने विभिन्न चरणको बारेमा ५० जनाभन्दा बढी गुरुहरूलाई जानकारी गराइरहेका छन् ।
कार्यक्रमको सञ्चालन  संस्थाका महासचिव पंडित खगेन्द्रप्रसाद निरौलाले गरेका थिए।