बिर्तामोड । के तपाईका छोराछोरी बिद्यालय जाँदैछन् ? कि बिद्यालय जाने बहानामा अन्यत्र गएर लागूऔषध दुर्व्यसनमा पो फसिरहेका छन् कि ? तपाई ले कहिल्यै उनीहरूको बारेमा सोधपुछ गर्नु भएको छ?  यदी छैन भने तपाई पछुताउनु हुनेछ। अभिभावकले आफ्ना छोराछोरीको बारेमा चासो नदेखाउंदा पछिल्लो समय स्कूलका विद्यार्थी, युवापुस्ता लागूऔषध दुर्व्यसनको दलदलमा फस्न थालेका छन् ।    विहानै विद्यालय गएका छोराछोरी के गर्दैछन् भन्ने हेक्का समेत अभिभावकहरुले नराख्दा लागूऔषध सेवन गर्ने विद्यार्थी र युवाहरुको संख्या दिनानुदिन बढ्न थालेको छ  ।
   आजको युवापुस्तामा लागूऔषधको लत तीव्र रूपमा फैलिँदै गएको पाइएको छ ।     

  विशेषतः युवा, विद्यार्थी लागूपदार्थको कुलतमा फसिरहेका छन्, जसको प्रत्यक्ष असर उनीहरूको स्वास्थ्य, शिक्षा, भविष्य र पारिवारिक जीवनमा पर्न थालेको छ । लागूपदार्थको प्रयोगले मानसिक सन्तुलनमा समस्या, व्यवहारमा आक्रोश, चोरी–डकैती, हत्या, हिंसा, बलात्कार जस्ता आपराधिक गतिविधि र सामाजिक दूरी निम्त्याइरहेको छ । 

  लागूऔषधको सेवनले परिवारका सदस्यहरूलाई पनि नराम्रोसँग असर पुर्याइरहेको छ ।
विशेषगरी अभिभावकहरूलाई यस समस्याबारे सचेत गराउन नसक्दा यसले भयाबह रूप लिन थालेको छ।
लागूऔषध दुर्व्यसनबाट समाजलाई मुक्त गराउने उद्देश्यले अर्जुनधारा नगरपालिका वडा नं. ११ का विभिन्न स्थानमा लागूऔषध दुर्व्यसनबिरूद्दको सचेतनामूलक सडक नाटक अँध्यारो बाटो मञ्चन गरिएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं. ११मा    लागूऔषध प्रभावित क्षेत्र निर्धारण गरेर अभिभावक सचेतना अभियान सञ्चालन गर्न, अभिभावकहरूलाई कसरी आफ्ना छोराछोरी र छरछिमेकका युवालाई लागूऔषधको दुरुपयोगबाट बचाउन सकिन्छ भन्ने बारेमा जानकारी दिने उद्देश्य सहित सडक नाटक “अँध्यारो बाटो“ मञ्चन गरिएको नाटकका लेखक तथा निर्देशक दिनेशराज शर्माले बताए ।
आफ्नो अमुल्य जीवनको साटो  अब कसैले पनि हिँड्न नपरोस् अँध्यारो बाटो  भन्ने मूल नाराका साथ अर्जुनधारा वडा नं. ११ का  लक्ष्मीधाप देवीथान, सालवारीस्थित महारानीगञ्ज मावि अगाडि, उमामहेश्वर शिवालय परिसर देउनिया र गिरीबन्धु टिस्टेट परिसर अर्जुनधारामा सडक नाटक अँध्यारो बाटो मञ्चन गरिएको आजात सामुदायिक संस्था अर्जुनधारा –११ का अध्यक्ष सन्तकुमार राईले बताए।
सडक नाटक अँध्यारो बाटोमा मञ्जरी थिएटर  बिर्तामोडका कलाकारहरु दिनेशराज शर्मा, याम खरेल, सलिना गुरागाँई, तुलसीप्रसाद निरौला, जतिन श्रेष्ठ, न्यूसन घिमिरे, विसोक तिवारी, आर्ट स्टुडियोका कलाकारहरु शान्ता पौडेल, शोभा बिमली, सुशीला पोखरेल, कल्पना खतिवडाले अभिनय गरेका थिए ।
नाटकको ध्वनी संयोजन तथा ब्याकग्राउण्ड म्यूजिक संयोजनमा  निरज पोखरेलले गरेका थिए । अर्जुनधारा नगरपालिका वडा नं. ११ को आर्थिक व्यवस्थापनमा आजात सामुदायिक संस्था अर्जुनधारा –११ को प्रस्तुतिमा उक्त नाटक मञ्चन गरिएको अर्जुनधारा –११का वडा सदस्य पूर्णबहादुर राईले जानकारी दिए ।
अर्जुनधारा –११का वडा सदस्यहरु सुशीला गिरी, केशव अधिकारी, आजाद सामुदायिक संस्थाका  अध्यक्ष  सन्तकुमार राई , उपाध्यक्ष खड्बहादुर विश्वकर्मा, सचिव प्रदीप दर्जी लगायतले  नाटकले समसामयिक विषयवस्तुलाई गहन तरिकाले प्रस्तुत गरेको बताउँदै लागूऔषधको सेवनबाट  आफ्ना छोराछोरीलाई बचाउनु पर्ने सन्देश दिएको जनाए ।
त्यस्तै महारानीगञ्ज मावि सालबारीका प्रधानाध्यापक मनबहादुर लिम्बू, जुनकिरी सार्वजनिक आधारभूत विद्यालय प्रधानाध्यापक रञ्जित परियार , युवा बिराज सुवेदीलगायतले सडक नाटक अँध्यारोबाटोमा  कलाकारहरुको जिबन्त अभिनय रहेको बताउँदै अभिभावक , विद्यार्थी र किशोर किशोरीहरुका लागि नाटक अत्यन्त शिक्षाप्रद भएको जनाए।
    नाटक  हेर्ने दर्शकहरुले  नाटकका दृश्यहरू हेर्दा आफूहरू भक्कानिएको  बताउँदै  नाटक हेरेपछि आफ्ना छोराछोरीहरुलाई लागूऔषधको कुलतमा फस्न रोक्नु पर्ने सन्देश पाएको जनाए ।

यस्तो लागूऔषध दुर्व्यसनबिरूद्दको  नाटकलाई प्रत्येक पालिका, वडालगायतले मञ्चन गर्न लगाए लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्न सहज हुने उनीहरूको भनाइ छ।