बिर्तामोड। सरकारले आर्थिक बर्ष २०८२/०८३ को बजेटमा सुनमा  गरेको करबृद्दीको खारेजीको माग गर्दै आन्दोलित बनेका झापाका सुनचाँदी व्यवसायीले शुक्रबार बिरोध र्‍याली निकालेका छन्।

   झापाको बिर्तामोडस्थित रत्न सुपर मार्केटबाट  सुनचाँदी व्यवसायी संघ झापाको अगुवाईमा झापाका विभिन्न शाखाका पदाधिकारीहरूसहित  सुनचाँदी व्यवसायी, कालीगढ, कर्मचारीसहितको र्‍यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो।
र्‍यालीमा उनीहरूले  सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, हामी विरोधमा छौं, उपभोक्ता, कालिगढ तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर भन्ने लगायतका प्लेकार्ड प्रदर्शन गरेको सुनचाँदी व्यवसायी संघ  झापाका कोषाध्यक्ष अभिशेक गहतराजले बताए। 

   आफूहरूले व्यवसाय वन्द गरेर आन्दोलनमा उत्रिएको बताउँदै उनले आफूहरूले  राखेको माग तत्काल समस्या समाधान गर्न आग्रह गरे ।
उनले सरकारले माग पूरा नगरे थप आन्दोलन चर्काउदै तालाचाबि समेत बुझाउने चेतावनीसमेत दिएका छन्।
  सरकारले आर्थिक बर्ष २०८२/०८३ को
बजेटमा सुनमा २ प्रतिशत विलासित कर, वहुमुल्य हिरा , जुवाहरत र पत्थरमा १३ प्रतिशत भ्याट  लगाएकाले त्यसलाई खारेज गर्नुपर्ने , उपभोक्ता , कर्मचारी, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर्नुपर्ने   सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीले माग गरे ।
र्‍यालीपछि बिर्तामोडको मुक्तिचौकमा आयोजित कोणसभा सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीको अध्यक्षतामा भएको  थियो । 

    कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका  केन्द्रीय सदस्य राजकुमार गुप्ता ,  सुनचाँदी व्यवसायी संघ झापाका सल्लाहकार बलराम कार्की , बिर्तामोड  उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलगायतले सरकारले लगाएको अव्यवहारिक कर खारेज गर्नुपर्ने बताए।  
   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको भन्दै  उनीहरूले त्यसलाई फिर्ता लिन सरकारसंग माग गरे । 

सुन तथा सुनका गहनामा लगाइएको दुई प्रतिशत र बहुमूल्य हिरा जवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत कर भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार मूल्य ६ कायम गर्नुपर्ने, सुनचादीको कारोबारको लागि प्रष्ट निति नियमाबली निर्माण गरीनुपर्ने लगायतको  माग आफूहरूको रहेको सुनचाँदी व्यवसायी संघ  झापाका कोषाध्यक्ष अभिशेक गहतराजले बताए।   

  उनले निर्यातको ढुवानीमा दुई  दशमलव ५ प्रतिशत टीडीएस लाग्ने व्यवस्था खारेज गर्नुपर्ने, विश्व वजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागी अन्तर्राष्ट्रिय मान्यताप्राप्त ल्यावको व्यवस्था गरिनुपर्ने, सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडो भन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गर्नुपर्ने लगायतको माग रहेको बताए।

    कार्यक्रमको सहजीकरण सुनचाँदी व्यवसायी संघ  झापाका कोषाध्यक्ष अभिशेक गहतराजले गरेका थिए ।