बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालको आयोजनामा साहित्यकार रामकुमार बिमलीद्वारा लेखन तथा सम्पादन गरिएको जीवनीपरक कृति जीवनका कथाहरूको विमर्श कार्यक्रम सम्पन्न भएको छ।
साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थाद्वारा अभिनन्दित ब्यक्तित्व साहित्य कला संगम दमकका अध्यक्ष बिन्दु दाहाल मूकदर्शकको प्रमुख आतिथ्य तथा साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कृति जीवनका कथाहरूको बारेमा कृतिका लेखक तथा सम्पादक साहित्यकार रामकुमार बिमलीले प्रष्ट्याएका थिए।
कोभिड–१९ महामारीका बेला अमेरिकाबाट फर्किएपछि आफ्नी आमा ९५ वर्षीया राममाया बिमलीले जीवनकालमा भोगेको अनुभव, दुःख–संघर्ष र सामाजिक परिवेशलाई समेटेर जीवनीपरक कृति ‘जीवनका कथाहरू’ तयार पारेको उनले बताए।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष केशव आचार्य, सल्लाहकार भवानी क्षेत्री, साहित्यकार ईन्द्रप्रसाद कटुवाललगायतले साहित्यिक रचना वाचन गरेका थिए।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक राजेन्द्र संग्रौला , मानार्थ सल्लाहकार पुण्यप्रसाद खरेल, समाजसेवी नन्दमणि बिमलीलगायतले
शुभकामनासहित मन्तव्य व्यक्त गर्दै एक आमाको जीवन संघर्षलाई जीवन्त रूपमा कृतिको माध्यमबाट प्रस्तुत गरेको उल्लेख गरे।
उनीहरूले यस्ता कृतिहरूले समाजमा पुस्तान्तरणीय अनुभवको संरक्षण, पारिवारिक मूल्य–मान्यता र सामाजिक इतिहासलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता जीवनीपरक कृतिले भावी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे।
कृतिकार रामकुमार बिमली र शारदा सग्रौला बिमलीको ३४ औं वैवाहिक वर्षगांठको अवसरमा बिमली दम्पतीलाई कार्यक्रमका सहभागीले वैवाहिक जीवनको शुभकामना दिएका थिए।
कार्यक्रममा कृतिकार विमलीले साहित्य चौतारी बिर्तामोड झापा नेपाललाई आफ्ना कृति हस्तान्तरण गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।




















