बिर्तामोड। पूर्वेली गणतान्त्रिक युवा क्लब बिर्तामोड झापाकोआयोजनामा बिर्तामोड मेयर कप टी टेन क्रिकेट प्रतियोगिता हुने भएको छ।
आगामी वैशाख २४ गतेबाट शुरू भएर वैशाख २८ गतेसम्म बिर्तामोड ५ महेन्द्र रत्न स्कूलको खेलमैदानमा सञ्चालन गरिने आयोजक समितिका संयोजक चन्द्रप्रसाद भट्टराईले जानकारी दिए। प्रतियोगितामा झापाभरीका १६ वटा टीमको सहभागिता रहने उनले बताए। प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, द्वितिय पुरस्कार ३० हजार रूपैयाँ ट्रफि मेडल प्रमाण पत्र प्रदान गरिने उनले बताए। प्रथम पुरस्कार लेलिस ओडारी र द्वितिय पुरस्कार निर्मल भट्टराईले सौजन्य गरेको उनले बताए।
त्यस्तै म्यान अफ द म्याच, बेष्ट ब्याट्सम्यान, वेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट किपर, प्लेयर अफ द सिरिजलाई समेत पुरस्कार प्रदान गरिने उनले बताए। उनले बाउन्ड्री बाहिर बल क्याच गर्ने दर्शकलाई समेत उचित पुरस्कार प्रदान गरिने उनले बताए।
अहिलेका युवा लागूपदार्थ दुर्व्यसनमा फसिरहेको अवस्थामा त्यसको न्यूनीकरणका लागी क्रिकेट प्रतियोगिता आयोजना गरिएको पूर्वेली गणतान्त्रिक युवा क्लब बिर्तामोड झापाका अध्यक्ष दिपेन्द्र चौधरीले बताए।
आफूहरूले फुटबल प्रतियोगिता गर्ने भनेपनि पछिल्लो समय क्रिकेटमा क्रेज बढेकाले क्रिकेट प्रतियोगिता गर्ने भएको उनको भनाइ छ।
बिर्तामोड मेयर कप टी टेन क्रिकेट प्रतियोगिता वैशाख १७ गतेबाट गर्ने तयारी गरेपनि प्रतिकूल मौसमका कारण वैशाख २४ गतेबाट गरिन लागेको उनले बताए। पूर्वेली गणतान्त्रिक युवा क्लब बिर्तामोड झापाका वरिष्ठ उपाध्यक्ष प्रकाश सुवेदी, सदस्य हरी अर्याल, बिर्तामोड नगर खेलकुद सदस्य विक्की चौधरीलगायतले प्रतियोगिता सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन पूर्वेली गणतान्त्रिक युवा क्लब बिर्तामोड झापाका कोषाध्यक्ष हेम पोखरेलले गरेका थिए।



















