बिर्तामोड। झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले यस वर्षदेखि बीटेक इन एआई कक्षा सञ्चालन गर्ने भएको छ।
विश्वव्यापीरूपमा फड्को मारिरहेको प्रविधिलाई मोफसलबाट नै सम्भव बनाउन र विश्व जगतको आधुनिक प्रविधिको शिक्षा उपलब्ध गराउन यस वर्षदेखि बीटेक इन एआई कक्षा सञ्चालन गर्ने गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डाक्टर रूपकप्रसाद खनालले बताए ।
बीटेक इन एआई कक्षामा ४८ जना विद्यार्थी भर्ना गरिने उनले बताए।
कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गरी उत्तीर्ण गरेका विद्यार्थीले बीटेक इन एआई कक्षामा भर्ना हुन सक्ने उनको भनाई छ।
आठ वटा सेमेस्टरको विश्वविद्यालयको फि बाहेक ६ लाख २३ हजार रूपैयाँ रहेको बताउँदै आर्थिक अवस्था कमजोर भएपनि अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागी छात्रवृत्तिसमेत उपलब्ध गराईने गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डाक्टर रूपकप्रसाद खनालले बताए ।
भर्ना भएका विद्यार्थी संख्याको आधारमा १० प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउने बताउँदै उनले प्रत्येक सेमेस्टरमा टप गर्ने एकजनालाई शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने जनाए।
बीटेक इन एआई कक्षामा भर्ना हुन आउने विद्यार्थीलाई यातायातको सुविधा उपलब्ध गराउनुका साथै दुर्घटना बीमा समेत प्रदान गरिने उनको भनाइ छ।
कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका विमल राजवंशी, जयराम चम्लागाईं , निलम संग्रौला, शितल मण्डल, मदन तिवारीलगायतले जिज्ञासाको जवाफ दिएका थिए।
कार्यक्रमको सञ्चालन शिक्षक शेखर पाण्डेले गरेका थिए।
त्यस्तै बिर्तामोडस्थित जीएम कलेजले यस वर्षदेखि बीए एलएलबी कक्षा सञ्चालन गर्ने भएको छ।
राजश्री जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर यस वर्षदेखि बीए एलएलबी कक्षा सञ्चालन गर्ने भएको जीएम कलेजकी कलेज चिफ सरू भूर्तेल खनालले बताइन् ।
उनले गतवर्ष शैक्षिक सत्रको भर्ना समयको अन्त्यमा सम्बन्धन प्राप्त भएकाले गत वर्ष कक्षा सञ्चालन गर्न नसकिएको र यस वर्षदेखि मात्र कक्षा सञ्चालन गर्न लागिएको उनले बताइन् ।
बीए एलएलबी कक्षामा ४० जना विद्यार्थी भर्ना गरिने को अर्डीनेटर विकास कोइरालाले बताए।
कक्षा ११ र कक्षा १२ मा जुनसुकै संकायमा अध्ययन गरी उत्तीर्ण गरेका विद्यार्थीले बीए एलएलबी कक्षामा भर्ना हुन सक्ने उनको भनाई छ।
विश्वविद्यालयको फि बाहेक दश वटा सेमेस्टरको ६ लाख रूपैयाँ रहेको बताउँदै आर्थिक अवस्था कमजोर भएपनि अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागी छात्रवृत्तिसमेत उपलब्ध गराईने उनले बताए ।
भर्ना भएका विद्यार्थी संख्याको आधारमा १० प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउने बताउँदै उनले प्रत्येक सेमेस्टरमा टप गर्ने एकजनालाई शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने उनले जनाए।
बीए एलएलबी कक्षामा भर्ना हुन आउने विद्यार्थीलाई यातायातको सुविधा उपलब्ध गराउनुका साथै दुर्घटना बीमा समेत प्रदान गरिने उनको भनाइ छ। कार्यक्रमको सञ्चालन शिक्षक शेखर पाण्डेले गरेका थिए।


















