बिर्तामोड ।   झापा बिर्तामोडका अलैंची व्यवसायी ओमकृष्ण विमली काठमाडौंमा सम्मानित भएका छन् ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा काठमाडौंमा आयोजित कार्यक्रममा बिमलीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सीआईपी’ सम्मान प्रदान गरिएको हो।

नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्रोसेसिङ्ग प्रा.लिका अध्यक्ष विमलीलाई   झापामा नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्रोसेसिङ्ग प्रा.लि.सञ्चालन गरेर कृषिजन्य वस्तुहरुको निर्याततर्फ निर्यात क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सीआईपी’ सम्मान प्रदान गरिएको हो ।

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्रोसेसिङ्ग प्रा.लिका अध्यक्ष बिमलीलाई महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सीआईपी’ सम्मान प्रदान गरेका थिए ।

नेपाल सरकारद्धारा उद्योग वाणिज्य क्षेत्रमा विशिष्ट योगदान गरी राष्ट्रिय अर्थतन्त्रको अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भन्दै दुई वर्षको कृषिजन्य वस्तुहरुको निर्यात योगदानको लागि नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्रोसेसिङ्ग प्रा.लिका अध्यक्ष विमलीलाई उक्त सम्मान प्रदान गरिएको नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ । 

नेपाल सरकारद्धारा प्राथमकितामा राखेका निर्यात सम्भावनायुक्त वस्तुमध्ये कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्तामध्ये झापाको बिर्तामोडमा रहेको नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्रोसेसिङ्ग प्रा.लि कृषिजन्य वस्तु सबैभन्दा बढी रकमको निर्यात गर्ने निर्यातकर्ता भएको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।

  झापाको बिर्तामोड–४ मा सञ्चालनमा आएको नेपाल एभरेष्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले अलैंचीलाई प्रशोधन गरेर ‘एभरेष्ट शान’ ब्राण्ड अन्तरगत ३० प्रकारका मसलाजन्य उत्पादन गरिएको नेपाल एभरेष्ट कार्डामम प्रोडक्सनका अध्यक्ष ओमकृष्ण बिमलीले बताए । 

नेपाल एभरेस्ट कार्डमम् प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालिले संयुक्त अरब इमिरेट्सको दुबईमा शाखा कार्यालय विस्तार गरेर अलैँचीका उत्पादनहरु तेल, पाउडर, मसला तथा क्याप्सुलको ‘एभरेस्ट सान’ को ब्रान्डका रुपमा दुबईमा बिक्री सुरु गरिएको उनले जानकारी दिए ।

नेपाली उद्योगले पहिलोपटक विदेशमा आफ्नै कार्यालय स्थापना गरेर आफैँले उत्पादन गरेर नेपाली अलैँचीलाई विश्वबजारमा पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष बिमलीले बताए ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले आफू र आफ्नो उद्योगलाई  महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सीआईपी’ सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गर्दै यस सम्मानले आफूलाई व्यवसायमा अझ दरिलो भएर लाग्ने हौसला मिलेको उनले बताए । 

वार्षिक २५ लाख किलोग्राम अलैँचीको उत्पादन गर्दै आएको उद्योगले वार्षिक तीन कन्टेनर उत्पादन दुबई कार्यालयमार्फत बिक्री गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले जानकारी दिए ।

दुबईमा शाखा खोलेसँगै नेपाली अलैँचीका उत्पादन विदेशमा विक्री गर्ने संभवत पहिलो नेपाली कम्पनी नेपाल एभरेष्ट कार्डमम् प्रोडक्सन एण्ड प्रोसेसिङ्ग प्रा.लि भएको बताउँदै उनले अमेरिकासहित क्यानडा, अस्ट्रेलिया र युरोपेली मुलुकमा आफ्ना उत्पादन बिक्रीको तयारी गरिएको जनाए ।

उद्योगकी निर्देशक पार्वता खरेल बिमलीले नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले अध्यक्ष विमली  र उद्योगलाई  महत्वपूर्ण व्यवसायिक व्यक्ति ‘सीआईपी’ सम्मान प्रदान गरेकोमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयलाई धन्यवाद दिँदै एभरेष्ट शान ब्राण्डमार्फत् अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पु¥याउन आफूहरु लागिपरेको बताईन्  ।

कार्यक्रममा सीआईपी प्राप्त गर्नेहरुमा २१ व्यावसायिक फर्म तथा कम्पनी रहेका छन् भने निजी क्षेत्रका प्रतिनिधिमूलक नौ संस्थाले मानार्थ सीआईपी प्राप्त गरेका छन् ।

उद्योग मन्त्री दामोदर भण्डारीले सिआईपी सम्मान प्राप्त गर्ने उद्योगी व्यवसायीलाई त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा रहेको भीआईपी लाउञ्च र नेपालका अन्य विमानस्थलमा रहेको विशिष्ट व्यक्तिहरुका लागि व्यवस्था गरिएको भीइआपी लाउञ्ज प्रयोगको सुविधा सरकारले दिने बताए ।

सरकारी तथा निजी क्षेत्रले आयोजना गर्ने उद्योग तथा वाणिज्य क्षेत्रका समारोह तथा कार्यक्रमहरुमा प्राथमिकताका साथ आमन्त्रण तथा आसनको विशेष व्यवस्था मिलाउने, विदेशमा आयोजना हुने व्यापारिक तथा औद्योगिक मेला तथा प्रदर्शनीको सहभागीतामा प्रतिनिधित्व गर्न प्राथमिकता दिने, सार्क क्षेत्रको भ्रमणका लागि सार्क भिसा उपलब्ध गराउन सिफारिस गर्ने सुविधा सरकारले दिने भएको उनको भनाई  छ।