बिर्तामोड। बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकेडेमीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ।
    विद्यालय अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिका बडा नं २ का वडाध्यक्ष किशोरकुमार पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्लस टु कोअर्डीनेटर केवल सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
उनले विद्यार्थीले पालना गर्ने नियम र विद्यालयको आचारसंहिताको बारेमा जानकारी गराएका थिए।
विद्यार्थी रूवि पाठकले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा  प्लस टु पढाउने शिक्षकहरूले आफूले पढाउने विषयको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले विद्यालयका संस्थापक हरिकुमार प्रसाईले देखाएको बाटोमा हिँड्ने प्रतिबद्धता जनाएका थिए। उनले विद्यार्थी तथा अभिभावकलाई शिक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेका थिए।
कार्यक्रममा त्रिदेव क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरी घिमिरे, स्वस्तिका आचार्यलगायतले नवआगन्तुक विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिएका थिए।
कक्षा १२ का विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेको कार्यक्रममा विद्यालयद्वारा जारी गरिएको मोबाइल एप प्रयोग सम्वन्धी जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।