बिर्तामोड। किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति झापाले किरात याक्थुङ चुम्लुङको ३७ औं स्थापना दिवस मनाएको छ।
किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति झापाका अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षता तथा संघीय सदस्य डाक्टर भीम सुव्वाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सहसचिव कविन्द्रविक्रम नेम्बाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा झापा जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा लिम्बू भाषा पढाईरहेका  सात जना लिम्बू भाषा शिक्षकहरूलाई सम्मान गरिएको थियो।

   यसरी सम्मानित हुने शिक्षकहरूमा पृथ्वी मावि दमकका दीपेन्द्र सेलिङ, श्रीमावि बुद्धशान्तीका इत्छिउण्सा लिम्बू, नमूना आवि बुद्धशान्तीका सन्तहाङ लिम्बू, गणेश मावि बुद्धशान्तीकी सरस्वता ईधिङ्गो, भगवति आविकी शिवसताक्षीकी प्रमिला नेम्बाङ,  वालसेवा आविकी शिवसताक्षीकी तीर्थकुमारी लिम्बू, बालनिकुञ्ज माविका शिवसताक्षीका ओजाहाङ योङहाङ रहेका छन्।
सोही कार्यक्रममा बालकल्याण मावि मेचीनगरकी स्नेहा लिम्बूलाई कियाचु इजरायलको सहयोग कोषबाट रू १० हजार, गणेश मावि बुद्धशान्तीकी अमृता लिम्बूलाई कियाचु जिल्ला झापाबाट ५ हजार, सरस्वती मावि हल्दीबारीका वीरेन्द्र जबेगूलाई कियाचु जिल्ला झापाबाट ५ हजार, पारिजात पब्लिक स्कुल मेचीनगरकी नुबसा लिम्बू थलङलाई कियाचु जिल्ला झापाबाट ५ हजार छात्रवृत्तिसमेत प्रदान गरिएको थियो।
     कार्यक्रममा  किरात समुदायको मौलिक संस्कृति झल्काउने पालम,  च्याब्रुङ नाच, धान नाच, हाक्पारे गायन लगायतका विभिन्न सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए ।
    किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाका अध्यक्ष सेसेहाङ फियाकले लिम्बू जातिको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ समुदायको मौलिक भाषा, संस्कृति र पहिचान जोगाउन आफूहरू  अझ जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए ।
   कार्यक्रममा प्रमुख अतिथी सुव्वा, कियाचु पूर्व संघीय तथा सल्लाहकार राधा सुव्वा , राष्ट्रिय चुम्लुङ सदस्य  चन्द्रकुमार इवारम, राष्ट्रिय चुम्लुङ निवर्तमान सदस्य जेवी जवेगू,  कियाचु झापाका सल्लाहकार तथा बिर्तामोड १ का वडासदस्य  योगचन्द्र  आङवोहाङ, कियाचु बिर्तामोड नगर अध्यक्ष  हिमालयप्रकाश कन्दङ्वा, कियाचु कमल गापा अध्यक्ष  दीवस लिम्बूलगायतले  किराँत याक्थुङ समुदायको भाषा, साहित्य, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा किरात याक्थुङ चुम्लुङले खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरेका थिए।

   कार्यक्रमको सञ्चालन कियाचु जिल्ला कार्यसमिति झापाकी सचिव भिममाया नेम्बाङले गरेकी थिइन्।