बिर्तामोड।  झापाको बाह्दशी ५ फूलबारीमा नेपालकै सबैभन्दा ठूलो सन्थाल नृत्यसहितको दशैं मेला सम्पन्न भएको छ ।
झापाको बाह्दशी ५ फूलबारीमा
पूर्वी नेपालका झापा, मोरङ र सुनसरी र भारतका बिहारसहितका  आदिवासी सन्थाल जातिले गर्ने विशेष प्रकारको जातीय नृत्यले सवैलाई मोहित पारेको स्थानीय विभूतीनारायणसिंह राजवंशीले बताए।
दशैं शुरु भएदेखि एकल वा समूह बनाएर बाजागाजासहित नेपालीहरूको घरदैलोमा सन्थाल नृत्य प्रस्तुत गर्दै दान दक्षिणा सङ्कलन गर्ने सन्थालहरुको समूहले  कोजाग्रत पूर्णिमामा झापाको बाह्दशी ५ फूलबारीमा लाग्ने दशैं मेलामा सन्थाल नृत्य देखाउने गरेको  उनले बताए  ।
फूलबारीमा लागेको सन्थाल नृत्य हेर्न ५० हजार भन्दा बढीको सहभागिता रहेको मेला आयोजक समितीका अध्यक्ष मनोज राजवंशीले बताए।
टाउकामा नेपालको राष्टिूय झण्डा, एकै प्रकारका पहिरनमा कछाड र कुर्ता लगाई शरीरका अंगहरु हल्लाउंदै एक नासले गरिने सन्थाल नृत्य दशैं मेलाको आकर्षण वन्ने गरेको उनले बताए।
बाह्दशी ५ फूलबारीमा लागेको दशैं मेलामा प्रतियोगितात्मक सन्थाल नृत्य प्रस्तुत गरिएको स्थानीय विभूतीनारायणसिंह राजवंशीले बताए।
उक्त प्रतियोगितामा विहानी सन्थाल युवा क्लब कनकाई ७ कालीमुडा दुर्गापूर प्रथम हुँदै नगद १५ हजार ५ सय पुरस्कार प्राप्त गर्यो भने सन्थाली युवा परिवार किसनगञ्ज बिहार भारत र जियोड झरना जियोन क्लब राजगढ द्वितिय भएर जनही १२ हजार ५ सय  रूपैयाँ पुरस्कार प्राप्त गरेको उनले जानकारी दिए।
त्यस्तै अन्य सहभागीले सान्तवना पुरस्कार प्राप्त गरेको उनले बताए।
झापासहित पूर्वका दशैँका मेलाहरुको प्रमुख आकर्षणको रुपमा रहने गरेका परम्परागत सन्थाल अर्थात सतार नृत्यमा विभिन्न समूहमा आएका सन्थाल नृत्य टोलीहरुले आफ्ना कलाकौशल प्रयोग गरेर परम्परागत नृत्य देखाउँदै मेला भर्न आएकाहरुको मन जित्ने गरेको उनको भनाई छ।
झापा , मोरङ र सुनसरीमा बसोबास गर्ने अल्पसङ्ख्यक सन्थालहरूले आदिकालदेखि नै दसैँ र तिहारको बेला परम्परागत जातीय दासाई नृत्य प्रस्तुत गरी दशैं मनाउने गरेका छन् ।
सन्थाल नृत्यमा पुरुष सन्थालहरू  रङ्गीचङ्गी कमिज, धोती,शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा खाल खालका कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिक रूपमा छुट्टाछुट्टै समूहमा नाँच्ने गर्छन् ।  महिलाहरूले  नृत्यको मध्य अवस्थामा बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन् भने  नाचिरहेका सन्थालहरू आफूलाई बहादुर साबित गर्न बिना हात जमिनमाथि उडेका भुजा मुखमा हाल्ने प्रयास गर्छन् ।  यसरी भुजा  छर्नुको तात्पर्य छर्ने घरका पितृहरुलाई चढाएको भन्ने बुझिन्छ। नृत्यका क्रममा उनीहरू कालीको शक्ति आफूमा चढेको देखाउन कोर्रा, लट्ठीको सहजरूपमा सामना गर्ने गर्छन् ।  मट्टितेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छे माथि मान्छे चढ्दै दुई, तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौँ कोर्रा सहेर आफ्नै जातीय भाषा, गाईजात्रे पहिरनमा प्रस्तुत हुने नृत्यले थप रौनकता बढाउने गरेको छ । दशैंको समयमा झापाका गाउँ गाउँमा लाग्ने दशैं मेलामा सन्थाल युवाहरूको दासाई नृत्य प्रमुख आकर्षण हुने गरेको स्थानीय रेवतादेवी भट्टराई बताउँछिन् ।
दशैं मेलामा सन्थाल नृत्य छैन भने दशैंको मज्जा लिन नसकिने बताउँदै उनले भनिन्  जब सन्थाल नृत्य झापाका सडक, गाउँ तथा गल्लीहरूमा देखिन थाल्छ तब मात्र मलाई दशैं आएको अनुभूति हुन्छ ।
दासाई नाचले सन्थाल जातिको जातीय एवम् सांस्कृतिक पहिचान जोगाइराखेको कनकाई नगरपालिका ७ कालीमुडाका भगन टुडु बताउँछन् ।
सन्थाल भाषामा दसैं नृत्यलाई ‘दसाई एनक’ भनिने बताउँदै उनले सन्थालहरुले दसैं मेलामा विशेषगरी दसाई एनक, रिन्जे एनक, धिम्सोर एनक र दङ एनक नामक् नृत्य प्रदर्शन गर्ने जनाए ।
दसैं मेलामा नृत्य गर्नुअघि फूलपातिदेखि नवमीसम्म घरघर नृत्य गर्दै हिँड्नुपर्ने चलन रहेको बताउँदै उनले दसैं मेलामा नृत्य गर्नुअघि दुर्गा भगवतीलाई जगाउन फूलपातिदेखि नवमीसम्म तीन दिन घर घरमा गई नृत्य गर्नुपर्ने र ‘त्यसपछि दसैं मेलामा नृत्य गर्ने चलन रहेको जनाए ।
झापाको घैलाडुब्बा, गरामनी, चारआली, गौरीगञ्ज, जुरोपानी, टाघनडुब्बा, राजगढ, बैंसाबारी, बनियानी, पाडाजुँगी, शिवगञ्ज, कुञ्जिबारी, रंगियाथान, कुमरखोदलगायतका स्थानमा लाग्ने दशैं मेलामा शीरमा नेपालको राष्टिूय झण्डारु,घुगुरा, पैङजन, पोट्कु, रुमाल, मुजा, टाई लगाएर सिट्टी फूक्दै लोक बाजामा सन्थाल जातिले सन्थाल नृत्य गर्ने र कोजाग्रत पूर्णिमाको दिन झापाको चकचकी  फूलबारीमा सन्थाल मेला समापन गरिने उनले बताए ।
दशैं मेलामा सन्थाल नृत्यको प्रतियोगिता नै आयोजना गरिएको र  आकर्षक नगद पुरस्कारसहित निमन्त्रणा गरेर नृत्य गर्न बोलाइने भएकाले पछिल्लो समय सन्थाल नृत्यमा आकर्षण बढेको स्थानीय माराङ्ग हास्दाले बताए।
आदिवासी सन्थाल जातिको सांस्कृतिक नृत्यको जगेर्ना गर्न दशैं मेलामा सन्थाल नृत्यको आयोजना गरिएको मनोज राजवंशीले बताए ।
आफूहरुले सन्थाल नृत्य प्रतियोगिता आयोजना गरेर आकर्षक पुरस्कार समेत प्रदान गरेको उनको भनाई छ । हरेक वर्षको दशैंको टीकाको कोजाग्रत  पूर्णिमाको दिन सन्थाल नृत्य प्रतियोगिता गराउँदै आएको बताउँदै उनले सन्थाल संस्कृति लोप हुनबाट जोगाउन सरकारी स्तरबाटनै चासो र संरक्षण हुनुपर्नेमा जोड दिए । फूलबारीमा लागेको सन्थाल मेलामा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको समेत सहभागिता रहेको थियो।