बिर्तामोड। नसर्ने रोग तथा मानसिक स्वास्थ्य साक्षरता अभियान सम्पन्न भएको छ।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेश, स्वास्थ्य कार्यालय झापाको आयोजनामा भएको कार्यक्रम स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासको अध्यक्षतामा भएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठले सहजीकरण गर्दै पछिल्लो समय नसर्ने रोगको जोखिम बढेको बताए।
उनले झापामा नसर्ने रोगको जोखिम उच्च रहेको र झापामा सबैभन्दा बढी उच्च रक्तचाप र दोस्रोमा मधुमेहका बिरामी रहेको बताए।
जीवनशैलीमा आएको परिवर्तन, आधुनिकीकरण, अस्वस्थकर खानपान, वायु प्रदूषण, मादक पदार्थ सेवन, रोकथामको साटो उपचारमा मात्र केन्द्रित हुने नितीले नसर्ने रोग बढेको उनले बताए।
झापामा १ हजार ४ सय ५५ जनालाई विपन्नको एक लाख सुविधा र २ हजार २ सय ८३ जनालाई मासिक ५ हजार निर्वाह रकम दिएको उनको भनाई छ।
झापामा मानसिक स्वास्थ्य समस्या बढेको र आत्महत्याको दर समेत बढेको उनले बताए।
उनले नसर्ने रोग स्क्रिनिङ अभियान माघ र फागुनसम्म देशैभर सञ्चालन भईरहेको बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डाक्टर यदुचन्द्र घिमिरे, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराललगायतले नसर्ने रोग तथा मानसिक स्वास्थ्य साक्षरता अभियान सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत विश्वनाथ श्रेष्ठले गरेका थिए।




















