बिर्तामोड । नेपाली काँग्रेस झापा क्षेत्र नं २ प्रत्यक्षतर्फकी उम्मेदवार सरीता प्रसाईंले आफूले झापा क्षेत्र नम्बर २ का जनताको मन जितिसकेकाले अब मत जित्ने बताएकी छन्।
झापा क्षेत्र नं २ का जनताले गरेको कृषिका उत्पादन बजारीकरण गर्ने, सामुदायिक विद्यालयलाई प्रविधीमैत्री बनाउने, सबैमा स्वास्थ्य पहुँच पुर्याउने, महिला शशक्तिकरणमा जोड दिइने, महिलाले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्ने, बिकाश निर्माण र उर्जाको क्षेत्रमा काम गर्ने, फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्ने , अव्यवस्थित सुकुम्बासीलाई ब्यवस्थापन गर्ने, भ्रष्टाचारमुक्त सुशासन कायम राख्ने, जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने उनले प्रतिबद्धता जनाइन्। आफू कहिल्यै पनि भ्रष्टाचार नगर्ने बताउँदै उनले झापा क्षेत्र नम्बर २ का जनताको हक अधिकारका लागी लड्न आफूले उम्मेदवारी दिएको जनाइन् ।
आफूले मतदाताको घरदैलोमा मत माग्न जाँदा मतदाताले नेपाली काँग्रेस पार्टी एकढिक्का बनेकोमा खुशी व्यक्त गर्दै मत दिने प्रतिबद्धता व्यक्त गरेको उनको भनाई छ ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, कोशी प्रदेश सभापति उद्धव थापा, झापा सचिव कृष्ण हुमागाईले नेपाली काँग्रेस झापा क्षेत्र नं २ प्रत्यक्षतर्फकी उम्मेदवार सरीता प्रसाईं र समानुपातिक तर्फको उम्मेदवार उमा शिवाकोटी र मनमाया विश्वकर्मालाई बिजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस झापा क्षेत्र नं २ निर्वाचन परिचालन समिति संयोजक खगेन्द्र मैनालीले गरेका थिए।




















