बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले मानव अधिकारको संरक्षण गर्न तथा लैंङ्गिक हिंसा विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्।
नारी कल्याण समाज अर्जुनधारा झापाको आयोजनामा मानव अधिकार तथा लैंङ्गिक हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले मानव अधिकारको संरक्षण गर्न तथा लैंङ्गिक हिंसा विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका हुन् ।
नारी कल्याण समाजकी अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नारी कल्याण समाजकी अध्यक्ष प्रेमा भट्टराईले स्वागत मन्तव्यसहित औचित्यमाथी प्रकाश पारेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष पाठक, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, चेम्बर अफ कमर्स झापाकी उपाध्यक्ष भिमा शिवाकोटी, उद्यमी महिला संघ झापाकी निवर्तमान अध्यक्ष सुष्मा पौड्याल, नेपाल उद्यमशील महिला संघ झापाकी उपाध्यक्ष यशोदा प्रसाईं, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष यसोदा उप्रेती, महिला उद्यमी समुहकी अध्यक्ष राधिका चुडाल ,मदरसा तालिम कुरान आधारभूत विद्यालयकी प्रधानाध्यापक रेनुका खातुन, नव सहयोगी उपकार महिला समुहकी उपाध्यक्ष सुनिता कार्की लगायतले शुभकामना दिएका थिए । उनीहरुले मान्छेको मानव अधिकारका कुरा लामो समयदेखि उठ्दै आएपनि अनुभूति हुनेगरी कार्यान्वयन अझैपनि हुन नसकेको तथा लैङ्गिक हिंसाको स्वरुप फेरिंदा लैङ्गिक हिंसा बढेकाले त्यसको न्यूनीकरणका लागी सबै जुट्नुपर्ने बताए।
कार्यक्रमको सहजीकरण अधिवक्ता कविता बास्तोला पाठकले गरेकी थिइन्। उनले मानव अधिकार उल्लङ्घनका घटना तथा लैंङ्गिक हिंसाका घटना नसहन आग्रह गरीन्।
कार्यक्रमको सञ्चालन चन्द्रकला रिजालले गरेकी थिइन्।




















