बिर्तामोड । ५४ औं विश्व वातावरण दिवस २०२६ को अवसर पारेर बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीमा रहेको न्युटन्स टुरिजम क्लबको आयोजनामा न्युटन्स वाल क्लब र न्युटन स्काउटले बिर्तामोड - ३ स्थित धार्मिक तथा पर्यटकीय स्थल विराट पोखरीको सरसफाई कार्यक्रम गरेको छ।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले बताए।
न्युटन्स वालक्लबकी अध्यक्ष मन्सा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा न्युटन्स् बालक्लबले विराट पोखरी सरोवर बहुउद्देश्यीय समितिलाई एक थान डस्टबिन समेत हस्तान्तरण गरेको थियो।
कार्यक्रममा विराट पोखरी सरोवर बहुउद्देश्य विकास समितिका अध्यक्ष इन्द्रप्रसाद प्रसाईंले स्वच्छ वातावरण निर्माण तथा प्रकृति संरक्षणका लागि न्युटन्स टुरिजम क्लब, न्युटन्स वालक्लब र न्युटन स्काउटले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
कार्यक्रममा सहभागी विद्यार्थीले वातावरण संरक्षण र सार्वजनिक स्थलको सरसफाइमा सबैको साझा जिम्मेवारी रहने बताए।
कार्यक्रमको सञ्चालन न्युटन्स वालक्लबकी फोकल पर्सन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन्।




















