बिर्तामोड। शनिश्चरे माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी दिएका बिद्यार्थीहरुको समूह चौतारी  २०४८ एसएलसी व्याजी शनिश्चरे माविको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
   नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा  सर्वाधिक रक्तदान गर्ने दीपेश वैधसहित १३ जनाले रक्तदान गरेको संस्थाकी उपाध्यक्ष गोमा खतिवडाले जानकारी दिइन्।
   झापामा भइरहेको रगतको अभाव टार्न रक्तदान जीवनदान भन्ने उद्देश्यले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष जीतेन्द्र श्रेष्ठले जानकारी दिए।
   संस्थाका अध्यक्ष जीतेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथी अर्जुनधारा-८ का वडाध्यक्ष कुमार प्रसाद उप्रेतीले गरेका थिए।     कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, संस्थापक अध्यक्ष ईन्दीबर खड्का, पूर्व अध्यक्ष तारादेवी श्रेष्ठ, निवर्तमान अध्यक्ष सुरेश प्रसाईंलगायतको आतिथ्य रहेको थियो।
    २०७१ सालमा स्थापना भएको संस्थाले सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा विविध कार्यक्रम गरिरहेको संस्थाका अध्यक्ष जीतेन्द्र श्रेष्ठले बताए। आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने उनको भनाई छ।
   रक्तदाताहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव सुनिल विश्वकर्माले गरेका थिए।