बिर्तामोड । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलाडी सम्मान तथा झापा जिल्ला खेलकुद विकास समितिको पूर्व पदाधिकारीहरुलाई सम्मानसहित विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेखर कँडेलको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मी देवानले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा १६ औँ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा पदक विजेता झापाली खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको थियो । १६ औँ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा झापाको प्रतिनिधित्व गर्दै करातेतर्फ स्वर्ण पदक विजेता प्रतिशा नेपाललाई रु. १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो भने एथलेटिक्स विधामा रजत पदक जित्न सफल टंक यादवलाई रु. १० हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । सोही विधामा १५ औँ राष्ट्रपति रनिङशील्डमा रजत पदक नै जित्ने सुजन मण्डललाई पनि नगद १० जहारसहित सम्मान गरिएको थियो ।
त्यसैगरी, तेक्वान्दोमा कास्य पदक विजेता रेशिका धिमाल र आयुषा बोहोरा एवम् उसुतर्फ कास्य पदक विजेता रासिम राई र आशिका तिरुवालाई नगद ७ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । १५ औँ राष्ट्रपति रनिङशील्डमा कराते विधामा कास्य पदक जितेका आर्यन दाहाललाई पनि नगद ७ हजारसहित सम्मान गरिएको थियो ।
यसैगरी, चौथो राष्ट्रिय लेजर–रन प्रतियोगितामा–२०२६ मा सिनियरतर्फ प्रथम हुने दमकका सरोज सिंह र जुनियरतर्फ प्रथम हुने दमककै सनम आङ्देम्बेलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा झापाका खेलाडीलाई पदक दिलाउन प्रशिक्षकको रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका करातेतर्फका प्रशिक्षक डम्बर सुनुवार, एथलेटिक्सतर्फका रामकुमार राजवंशी, तेक्वान्दोतर्फका चन्द्र गौतम र प्रतिमा तामाङ तथा उसुका पूजा खवासलाई सम्मान गरिएको थियो ।
सम्मानित खेलाडी तथा प्रशिक्षकहरुलाई प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल, जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य बालाजीत राई, झापा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’, लगायतले दोसल्ला ओढाएर, नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रममा झापा जिल्ला खेलकुद विकास समितिको निवर्तमान कार्यसमितिलाई सम्मानसहित विदाइ गरिएको थियो । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर कँडेलले निवर्तमान अध्यक्ष भेषराज भण्डारी, उपाध्यक्ष गंगा भुर्तेल कोइराला, सदस्यहरु जगन कार्की ‘दुर्वासा, शम्शेर मोक्तान, गंगा तुम्बापो, चेतामणि खनाल, पूर्णिमा सिटौलालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए भने प्रमुख अतिथि पोखरेलले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले झापालाई खेलकुदको हब बनाउने गरी भद्रपुर नगरपालिकाले लगानी गरिरहेको बताउँदै यसका लागि प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए । उनले झापा जिल्ला खेलकुद विकास समितिको निवर्तमान अध्यक्ष भेषराज भण्डारीले झापाली खेलकुदलाई नयाँ उचाई प्रदान गरेको बताए ।
झापा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा झापाको खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पु्र्याउन सफल भएको भन्दै जीर्ण अवस्थामा रहेको मेची रङ्गशालाको मुहार फेरेको र चर्चित भद्रपुर झापा गोल्डकपको शुरुआत गरेको उल्लेख गरे ।
उनले आफ्नो समितिले निःस्वार्थ झापाको खेलकुदको विकासका लागि अहोरात्र काम गरेको उल्लेख गर्दै नवगठित समितिबाट त्यसलाई निरन्तरता दिने मात्र नभई अक्र थप काम हुनेमा आफू विश्वस्त रहेको बताए ।
जिसस झापाकी उपप्रमुख रोक्काले वर्तमान अवस्थामा खेलकुद क्षेत्रमा महिला सहभागिता बढ्दै गएको उल्लेख गर्दै यसले महिला सशक्तिकरणमा टेवा पुग्ने बताइन् । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामाले झापा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष भण्डारी र उनको टीमले गरेको कार्यको प्रशंसा गरेका थिए ।
यसैबीच झापा जिल्ला खेलकुद विकास समितिको सदस्यमा प्रकाश शर्मा, कमला लिम्बू, विक्रम मेचे, राजेन्द्र लिम्बू, रोशन दाहाल, रेश्मा राजवंशी, सन्तप्रसाद चौलागाईं र इन्दु न्यौपाने चयन भएका छन् ।
कोशी प्रदेश विकास बोर्डले यसअघि अध्यक्षमा शंकर कँडेल र उपाध्यक्षमा लक्ष्मी देवानलाई नियुक्त गरेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए । कार्यक्रमको सञ्चालन कराँते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए ।




















