बिर्तामोड। वैदेशिक रोजगार व्यवसायी संघ झापाले रक्तदान कार्यक्रम गरेको छ।
झापामा रगतको अभाव भएकाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकले बताए।
नेपाल रेडक्रस सोसाइटी भद्रपुर र उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको महासचिव निरकुमार खत्री निरनले वताए।
वैदेशिक रोजगार व्यवसायी संघ झापाको दोस्रो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाई छ। कार्यक्रममा ६४ जनाले रक्तदान गरेको महासचिव निरकुमार खत्री निरनले जानकारी दिए। रक्तदान गर्ने रक्तदाताहरूलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो।
वैदेशिक रोजगार व्यवसायी संघ झापाका कार्यवाहक अध्यक्ष राजन शिलवालको अध्यक्षता तथा बिर्तामोड-४ वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सरिता बरालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा बडा सदस्य टेकबहादुर अधिकारी,नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
सिपी होटल पार्टी प्यालेसको सह प्रायोजन रहेको कार्यक्रमको सञ्चालन वैदेशिक रोजगार व्यवसायी संघ झापाका महासचिव निरकुमार खत्री निरनले गरेको कार्यालय सचिव एलिस कार्कीले बताए।




















