बिर्तामोड । झापाको बिर्तामोडमा मेन्स हेयर ग्रुमिङ प्रतियोगिताको तयारी गरिएको छ।
  बार्बर तथा हेयर आर्टिस्टहरुको प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा चिनाउने, नयाँ अवसर सिर्जना गर्ने तथा नेपालको ग्रुमिङ उद्योगलाई थप ब्यवसायीक र प्रतिस्पर्धात्मक बनाउने उद्धेश्यले बिर्तामोडमा मेन्स हेयर ग्रुमिङ प्रतियोगिता सञ्चालन गरिएको आयोजक राजश्री सप्लायर्सका सञ्चालक राजकुमार साहले जानकारी दिए ।
  राजश्री सप्लार्यस बिर्तामोड  र एसटी युनिसेक्स सैलुन एण्ड ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा झापामै पहिलो पटक सञ्चालन भइरहेको मेन्स हेयर ग्रुमिङ प्रतियोगिताको फाइनल साउन १६ गते शनिबार हुने उनले बताए।
  गत असार १ गतेदेखि शुरु भएको प्रतियोगिताको अनलाइन मार्फत गरिएको छनौट प्रतियोगितामा ६०  सहभागीहरुले फेसबुक, टिकटक, इस्ट्राग्राम, युट्युब जस्ता सामाजिक सञ्जालहरुमा आफ्ना प्रतिभाहरु प्रस्तुत गर्दै विभिन्न चरणहरु पार गरी फाइनलका लागी १० जना प्रतियोगी छनौट भएको एसटी युनिसेक्स सैलुन एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक सुमन ठाकुरले बताए ।

छनौट भएका  उनीहरुबीच शानिरबार बिर्तामोडमा प्रत्यक्ष रुपमा  फाइनल प्रतिस्पर्धा हुने उनले बताए।
   मेन्स हेयर ग्रुमिङ प्रतियोगिताको निर्णायकको रुपमा  नेपालका चर्चित हेयर स्टाइलिस्ट निलडेभिड कटुवाल, राम गुरुङ र सरोज थापा रहेको राजश्रीका प्रोप्राइटर धर्म साहले जानकारी दिए ।

  उक्त प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले नगद १५ हजारसहित प्रमाणपत्र र आकर्षक गिफ्ट हेम्परहरु प्राप्त गर्ने र  हेयर कलर क्रियटिभिटीलाई नगद १० हजार रुपैंयाँ प्रदान गर्ने  उनले बताए।
   साउन १६ गते हुने फाइनल प्रतियोगितामा सहभागी भएर हौसला बढाइदिन उनले सबैजनालाई आग्रह समेत गरेका छन्।