बिर्तामोड। झापाको बिर्तामोडमा  तेस्रो मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय पुरूष तथा महिला शारीरिक सुगठन प्रतियोगिताको तयारी गरिएको छ।
  बडी ग्यारेज बिर्तामोडको आयोजनामा आगामी असोज २० र २१ बिर्तामोडमा तेस्रो मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय पुरूष तथा महिला शारीरिक सुगठन प्रतियोगिता हुने कार्यक्रम संयोजक राम दाहालले बताए।
   यसअघि पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय रूपमा आयोजना गरिएकोमा यसपटक प्रतियोगितालाई राष्ट्रियस्तरमा विस्तार गरिएको उनले बताए।
   प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी ,७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा गराइने तथा महिलातर्फ भने खुला प्रतिस्पर्धा गरिने उनको भनाई छ।
  प्रतियोगिताको पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने बताउँदै उनले प्रतियोगिताको समग्र विजेताले नगद ५ लाख रुपैयाँ , दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख, पाँचौँले ७५ हजार र छैटौँ हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिए।
  त्यस्तै, कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको महिला प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक राम दाहालले बताए।
  हरेक तौल समूहमा दोस्रो हुने खेलाडीलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने र बाँकी तीन खेलाडीलाई ट्रफी तथा मेडल प्रदान गरिने उनको भनाई छ।
   प्रतियोगितामा देशका विभिन्न स्थानबाट खेलाडीको सहभागिता रहने तथा  विदेशबाट दुई जना खेलाडीसमेत सहभागी गराउने बताउँदै उनले प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र साथीभाई र संघसंस्थाको सहयोगमा उक्त रकम जुटाइने जनाए।
  प्रतियोगिताका प्रमुख सल्लाहकार सुवास भट्टराईले तेस्रो मिस्टर कञ्चनजंघा  प्रतियोगिता २०८२ साल भदौ २७ र २८ गते आयोजना गर्ने तयारी गरिएपनि जेनजी आन्दोलनका कारण स्थगित गर्नु परेको बताए ।
   शारीरिक सुगठन खेलको विकाससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए  ।
   प्रतियोगिताका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अभिषेक गहतराजले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
   कार्यक्रममा सहभागी सचिव हिमाल खरेल, कोषाध्यक्ष सारदा दाहाल लगायतले प्रतियोगिताबारे जानकारी दिए।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रमेश तिवारीले गरेका थिए।