बिर्तामोड। न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (SNJD) एसएनजेडीको आयोजनामा कचनकवलका समुदायस्तरीय युवा स्वयंसेवकहरूका लागी दुई दिवसीय समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ। समुदायमा हुनसक्ने विपद् जोखिमको पहिचान विश्लेषण , विपद् पुर्वतयारी र प्रतिकार्यका लागि समुदायका युवालाई सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (SNJD) एसएनजेडीका कार्यक्रम अधिकृत टीकाराम धमला रञ्जनले बताए।
तालिममा कचनकवलका २५ जना युवा स्वयंसेवकहरूको सहभागिता रहेको थियो। तालिममा सहभागीहरुलाई
नेपाल रेडक्रस सोसाइटी झापाका कार्यक्रम अधिकृत हरिशरण खड्का र एसएनजेडीका सामाजिक परिचालक हेमकुमार खड्काले प्रशिक्षण प्रदान गरेका थिए।
तालिममा सहभागीहरुलाई समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तथा जोखिम न्युनीकरण सम्बन्धी आधारभूत ज्ञान सीप, विपद् प्रकोप, जोखिम , संवेदनशीलता , क्षमता, जोखिममा परेको अवस्था, प्रारम्भिक सूचना प्रणाली , प्रतिकार्य, नेपाल तथा कचनकवल गाउँपालिकाको विपद् अवस्था , विपद् जोखिम न्युनीकरण तथा विपद् व्यवस्थापन चक्र, समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन, नेपालको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन सम्बन्धी निती ऐन तथा संस्थागत व्यवस्था, विपद् व्यवस्थापनमा युवा स्वयंसेवकको भूमिका विषयमा तालिम प्रदान गरेका थिए।
त्यसैगरी तालिमको दोस्रो दिन सहभागितामूलक संवेदनशीलता तथा क्षमता विश्लेषण, विपद् ईतिहास तथा मौसमी पात्रो, जोखिम नक्साङ्कन तथा स्रोत नक्साङ्कन, जोखिम विश्लेषण, जोखिम प्राथमिकता निर्धारण तथा संवेदनशील समूहको पहिचान, प्रारम्भिक द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कनलगायतका वारेमा तालिम प्रदान गरेका थिए।
तालिमका सहभागी तोयानाथ मिश्रले विपद्को परिभाषा विस्तृतमा बुझेको बताए। तालिमले विपद्को सामना गर्न आफूहरूलाई सक्षम बनाएको उनको भनाई छ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथी कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले एसएनजेडीले कचनकवलका समुदायस्तरीय युवा स्वयंसेवकहरूका लागी समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन तालिम प्रदान गरेकोमा खुशी व्यक्त गर्दै समुदायमा आधारित विपद् जोखिम व्यवस्थापनमा कचनकवल गाउँपालिकाले पनि काम गरिरहेको र तालिममा सहभागी युवालाई पालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा सहभागिता गराउने बताए।
लुथरन विश्व फेडरेशनको आर्थिक सहयोगमा भएको कार्यक्रमको सहजीकरण एसएनजेडीकी कृषि प्राविधिक प्रभा कार्कीले गरेकी थिइन्।




















