बिर्तामोड। झापाको बिर्तामोड-५ कृषिथोकमा रहेको कृषि उपज बजार बिर्तामोडलाई काठमाडौंको कालिमाटीस्थित कृषि बजारको मोडलमा आधुनिक सुविधासम्पन्न बनाइने भएको छ।
बिर्तामोडमा आयोजित बिज्ञ टोली, सांसद, जनप्रतिनिधि, सरोकारवाला निकाय, सञ्चारकर्मीहरूबीच भएको अन्तरक्रियामा कृषि उपज बजारको पुराना संरचना हटाउँदै नयाँ तथा व्यवस्थित संरचना निर्माणका लागि बहुवर्षीय आयोजना अघि बढाउने तयारी गरिएको जानकारी दिइयो ।
कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष निरजकुमार ओलीको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य ईन्दिरा राना मगरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम भएको थियो।
कार्यक्रममा कृषि पूर्वाधार विकास कार्यालयका वरिष्ठ कृषि इन्जिनियर चैतनारायण डङ्गोलले कृषि उपज बजारलाई आधुनिक स्वरूपमा विकास गर्ने योजनाबारे जानकारी गराएका थिए।
उनले कृषि उपज बजारको आधुनिक संरचना निर्माणका लागि २०७८ सालमा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम अघि बढाउने तयारी गरिएको बताए।
यसअघि आर्थिक वर्ष २०८२/०८३ मा पनि बजेट व्यवस्थापन भए पनि विभिन्न कारणले डीपीआर स्वीकृत हुन नसक्दा निर्माण प्रक्रिया अघि बढ्न नसकेको बताउँदै उनले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि भने करिब तीन करोड रुपैयाँ बजेट व्यवस्थापन भएपछि इ–बिडिङमार्फत ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरिएको जानकारी दिए। कृषि उपज बजारलाई सामान्य थोक बजारका रूपमा मात्र नभई पूर्वी नेपालकै प्रमुख कृषि व्यापार केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको र त्यसका लागि व्यवस्थित पसल तथा कोठा, कृषि उपज भण्डारण, पार्किङ, आवतजावतलगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गरिनेगरि डिपिआर तयार भएको उनको भनाई छ ।हाल बजारमा अव्यवस्थित संरचना, साँघुरो स्थान, पार्किङ तथा शौचालयको समस्या, कृषि उपज राख्ने पर्याप्त ठाउँको अभाव र व्यवसायी तथा कृषकका लागि व्यवस्थित कोठाको कमी रहेको र यी समस्यालाई समाधान गर्दै विभागले उपलब्ध जग्गाको अधिकतम उपयोग हुने गरी बजारको संरचना विकास गर्ने तयारी गरेको उनले बताए।
कृषि उपज बजार बिर्तामोडलाई काठमाडौंको कालिमाटीस्थित कृषि बजार जस्तै आधुनिक सुविधासम्पन्न बनाउन २०७८ सालमै डिपिआर तयार भैसकेको र अहिले बजेट विनियोजन भएकाले अब काम शुरू गरिने कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष निरजकुमार ओलीले बताए। उनले यस बर्ष ३ करोड बजेट छुट्याएकाले यस वर्ष खुद्रा बजार स्टल बनाउने बताए। कृषि उपज बजारको निर्माणका लागी यस बर्ष पूर्व उत्तर ४० वटा सटर निर्माण गरिने अध्यक्ष ओलीले बताए।
हाल सञ्चालनमा रहेको सब्जी बजार रहेको स्थानमा ४० वटा सटर निर्माणका लागि स्थान व्यवस्थापन गरिने बताउँदै उनले सो क्षेत्रमा हाल व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई बजारको दक्षिणतर्फ रहेको पुरानो भवन भत्काएर त्यहाँ व्यवस्थापन गरिने त्यसपछि खाली हुने स्थानमा चरणबद्ध रूपमा नयाँ संरचना निर्माण गरिने जनाए। कृषि उपज बजारलाई सामान्य थोक बजारका रूपमा मात्र नभई पूर्वी नेपालकै प्रमुख कृषि व्यापार केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाई छ।
कार्यक्रममा प्रदेश सांसद एकराज कार्कीले कृषि उपज बजारलाई व्यवस्थित बनाउन आफू लागीपर्ने बताए। उनले बिर्तामोड कृषिथोकमा रहेको कृषि उपज बजारको सम्भावना ठूलो रहेको बताउँदै यसलाई काठमाडौंको कालिमाटीस्थित कृषि बजारकै स्वरूपमा विकास गर्न सकिने जनाए । उनले पूर्वी नेपालका विभिन्न जिल्लामा उत्पादन हुने कृषि उपजको मुख्य व्यापारिक केन्द्रका रूपमा कृषि उपज बजार बिर्तामोडलाई विकास गर्न आवश्यक रहेको बताए।
प्रतिनिधी सभा सदस्य ईन्दिरा राना मगरले कृषि उपज बजारलाई व्यवस्थित बनाउन आफ्नो सहयोग सदैव सहयोग रहने बताइन्। कृषि उपज बजारको स्तरोन्नति आवश्यक रहेको बताउँदै उनले आफ्नै पहलमा बजेट विनियोजन भएकाले कृषि उपज बजार बिर्तामोडको पूर्वाधार विकाससँगै किसान, व्यवसायी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने गरी योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
अर्जुनधारा नगरप्रमुख वलदेवसिंह गोम्देन, बिर्तामोड- का वडाध्यक्ष रोहित प्रसाईंलगायतले कृषि उपज बजार बिर्तामोडलाई आधुनिक सुविधासम्पन्न बनाउन आफूहरूको सहयोग रहने बताए।
कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालासहितको टोलीले झापाको बिर्तामोडस्थित कृषि उपज बजारको अनुगमन गरी बजारको स्तरोन्नतिका लागि तत्काल ४० वटा सटर निर्माणको ठेक्का प्रक्रिया अघि बढाउने र बहुवर्षीय आयोजना सञ्चालन गर्ने सहमति भएको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष निरजकुमार ओलीले बताए।
कृषि उपज बजारमा हाल देखिँदै आएका अव्यवस्थित संरचना, साँघुरा स्थान, पार्किङको समस्या, कृषि उपज राख्ने पर्याप्त ठाउँको अभाव तथा व्यवसायीका लागि व्यवस्थित कोठाको कमीलाई समाधान गर्दै कृषि उपज बजारलाई आधुनिक स्वरूप दिने योजना रहेको अध्यक्ष ओलीले बताए।
कृषि विभागले बजारको समग्र अवस्थाको अध्ययन गरी उपलब्ध जग्गाको अधिकतम उपयोग हुने गरी संरचना निर्माण गर्ने तयारी गरेको उनको भनाई छ।
बिर्तामोडको कृषि उपज बजारलाई काठमाडौंको कालिमाटी कृषि बजारकै मोडलमा विकास गर्न करिब एक अर्ब रुपैयाँ लागतको बहुवर्षीय आयोजना अघि बढाउने तयारी गरिएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्रप्रसाद कोइरालाले बताए।
उनले बिर्तामोडस्थित कृषि उपज बजारको स्थलगत अनुगमन गरेपछि बजारको तत्कालीन आवश्यकता र दीर्घकालीन विकासका विषयमा छलफल गरी कृषि उपज बजारमा तत्काल आवश्यक संरचना निर्माणसँगै दीर्घकालीन रूपमा अत्याधुनिक कृषि व्यापार केन्द्रका रूपमा विकास गर्ने विषयमा सहमति भएको बताए।
कृषि उपज बजारमा आवश्यक भौतिक पूर्वाधार, व्यवसायीका लागि व्यवस्थित पसल तथा कोठा, कृषि उपज भण्डारण, आवतजावत, पार्किङलगायतका संरचनालाई योजनाबद्ध रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले
प्रस्तावित आयोजनाको दीर्घकालीन लागत करिब एक अर्ब रुपैयाँ रहने प्रारम्भिक योजना रहेको र बहुवर्षीय आयोजनाका रूपमा अघि बढाइने भएकाले एकैपटक सम्पूर्ण संरचना निर्माण नगरी आवश्यकताका आधारमा चरणबद्ध रूपमा काम गर्ने तयारी गरिएको जनाए।
यस वर्ष तीन करोड रुपैयाँको लागतमा ४० वटा पक्की सटर बनाउने र फागुनमा हुने बहुवर्षीय बजेटमा थप बजेटको तयारी गरी ढल बिजुली तथा भौतिक पूर्वाधारको समेत व्यवस्थापन गर्दै कालिमाटीकै मोडलमा यसलाई लैजाने कृषि विभागको तयारी रहेको उनले बताए।
चार बिगाह क्षेत्रफलमा फैलिएको बिर्तामोडको कृषि उपज बजारलाई योजनाबद्ध रूपमा विकास गर्न सके बिर्तामोड मात्र नभई झापा र कोशी प्रदेशकै कृषि व्यापारमा महत्वपूर्ण योगदान पुग्ने कृषि पूर्वाधार विभागका प्रमुख टीकाराम शर्माले बताए।
उनले कृषि बजारको क्षमता विस्तारसँगै किसानले उत्पादन गरेको कृषि उपजको व्यवस्थित बजारीकरणमा समेत सहयोग पुग्ने बताए । बजार व्यवस्थित हुँदा किसान, थोक व्यापारी, खुद्रा व्यवसायी र उपभोक्ता सबैलाई लाभ पुग्ने उनको भनाई छ ।
आधुनिक कृषि बजारमा बिक्री कक्ष मात्र पर्याप्त नभएर कृषि उपजको वर्गीकरण, ग्रेडिङ, प्याकेजिङ, भण्डारण, लोड–अनलोड, पार्किङ, फोहोर व्यवस्थापन, शीतभण्डार तथा किसान र व्यवसायीलाई आवश्यक अन्य सेवा उपलब्ध हुने गरी बजारको संरचना तयार गर्नुपर्ने भएकाले लागि कृषि उपज बजार व्यवस्थापन समिति, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको उनले सुझाव दिए ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लाबाट उत्पादित कृषि वस्तुको सङ्कलन, बिक्री तथा वितरणका लागि बिर्तामोडको कृषि उपज बजार महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको कृषि उपज बजार व्यवस्थापनसमितिका सदस्य खगेन्द्र महतोले बताए।
कृषि उपज बजारमा दैनिक ठूलो मात्रामा झापा तथा आसपासका जिल्लाका किसानले उत्पादन गरेका तरकारी तथा फलफूल आउने गरेका छन् भने यहाँबाट ती कृषि उपज पूर्वी नेपालका विभिन्न बजारमा जाने गरेको उनको भनाई छ।




















