बिर्तामोड । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (SNJD) एसएनजेडीको आयोजनामा बिर्तामोडमा समुदायस्तरका युवालाई मानव अधिकार रक्षक सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न भएको छ।
स्थानीय तहमा मानव अधिकारको संरक्षण, सचेतना र वकालत गर्न समुदायका युवालाई सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (SNJD) एसएनजेडीका कार्यक्रम अधिकृत टीकाराम धमला रञ्जनले बताए।
तालिममा एसएनजेडीका कार्यक्षेत्रका २५ जना युवाको सहभागिता रहेको थियो। तालिममा सहभागीहरुलाई मानव अधिकार सञ्जाल झापाका सचिव दिपक दासले प्रशिक्षण प्रदान गरेका थिए।
तालिममा सहभागीहरुलाई मानव अधिकारको परिचय, अवधारणा , महत्व, तथा मानव अधिकारको संरक्षणको आवश्यकता, नेपालमा मानव अधिकार उल्लंघनका प्रमुख सवाल तथा जोखिममा रहेका समुदायहरू, मानव अधिकारको संरक्षण कसले र कसरी गर्ने, मानव अधिकार रक्षकको परिचय, भूमिका, जिम्मेवारी, मानव अधिकार रक्षकका प्रकार, महिला, दलित,लैङ्गिक,तथा यौनिक अल्पसङ्ख्यक र अपाङ्गता भएका मानव अधिकार रक्षकका चुनौतिहरू, मानव अधिकार रक्षकका अधिकार, कर्तव्य र आचारसंहिता, मानव अधिकार रक्षकको सुरक्षा, जोखिम मूल्याङ्कन तथा क्षमता विकास, प्रविधिको प्रयोग, डिजिटल सुरक्षा, मोवाइल, इमेल, इन्टरनेटको सुरक्षित प्रयोग, कानूनी शासन, राष्ट्रिय मानवअधिकार संरक्षण संयन्त्र तथा सम्बन्धित आयोगहरूको भूमिका, संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदन, अन्तर्राष्ट्रिय संयन्त्र तथा नेपाल सरकारको दायित्व, समुदायमा मानव अधिकार समस्या, स्थानीय मानव अधिकार रक्षकको पहिचान तथा कार्य योजना, केस स्टडी, भूमिका निर्वाह तथा उजुरी, रेफरल र वकालत प्रकिया, समुदायस्तरको ३० दिने कार्ययोजना तथा व्यक्तिगत प्रतिवद्धता विषयमा प्रशिक्षण प्रदान गरेका थिए।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथी मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रूपक खनालले एसएनजेडीले समुदायस्तरका युवालाई मानव अधिकार रक्षक सम्बन्धी दुई दिवसीय तालिम प्रदान गरेकोमा खुशी व्यक्त गर्दै तालिम लिएका मानव अधिकार रक्षकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने बताए।
कार्यक्रममा तालिममा सहभागीहरु सन्तोष सुवेदी, तोयानाथ मिश्र, निरा ऋषिदेवलगायतले एसएनजेडीले मानव अधिकार रक्षक सम्बन्धी तालिम प्रदान गरेर आफूहरूलाई मानव अधिकार रक्षक वारे बुझ्ने अवसर दिएको बताए।
तालिम लिए पश्चात आफूहरू समुदायस्तरमा मानव अधिकारको संरक्षण, सचेतना र वकालत गर्न सक्षम भएको उनीहरूको भनाई छ।
कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमुख अतिथि डा.खनाल, प्रशिक्षक दीपक दास, एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडाल, कोषाध्यक्ष समियला खातुनलगायतले प्रमाण पत्र प्रदान गरेका थिए।
लुथरन विश्व फेडरेशनको आर्थिक सहयोगमा भएको कार्यक्रमको सहजीकरण न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (SNJD) एसएनजेडीका कार्यक्रम अधिकृत टीकाराम धमला रञ्जनले गरेका थिए।




















